इन्टर्नसिपको नाममा विदेशमा अलपत्र : द ब्रिटिस कलेजको गैरजिम्मेवारीले विद्यार्थीको भविष्यसँग खेलबाड
वि.सं.२०८२ पुस १८ शुक्रवार
shares
काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजले दुबइमा सञ्चालन गरेको इन्टर्नसिप कार्यक्रम गम्भीर लापरवाही, भ्रम र गैरजिम्मेवारीको केन्द्रमा परेको छ। आकर्षक करियर र अन्तर्राष्ट्रिय अनुभवको सपना देखाएर विदेश पठाइएका नेपाली विद्यार्थीहरू दुबइ पुगेपछि कामविहीन, आवासविहीन र मानसिक तनावमा अलपत्र परेका छन्।
इन्टर्नसिपका नाममा विद्यार्थीलाई विदेश पठाएर न्यूनतम व्यवस्थापनसमेत नगरेपछि यो विषय शिक्षा मन्त्रालयसम्म पुगेको छ। मन्त्रालयले छानबिन समिति गठन गरेको छ भने विभिन्न विद्यार्थी संगठनहरूले कलेजविरुद्ध आन्दोलन चर्काएका छन्। सामाजिक सञ्जालमा कलेजमाथि ठगी, झुटो आश्वासन र नैतिक पतनको आरोप तीव्र बन्दै गएको छ।
विदेश पठाउने तर जिम्मेवारी नलिने कलेज
विद्यार्थीहरूका अनुसार दुबइ पुगेपछि न त कामको व्यवस्था थियो, न आवास व्यवस्थित। कतिपय विद्यार्थीहरू पहिलो दिन भुइँमै सुत्न बाध्य भएको तथ्य बाहिरिएको छ।
विदेश पठाउनु अघि ‘सबै कुरा मिलिसकेको’ भन्दै ढुक्क बनाउने कलेज प्रशासन संकट आएपछि भने ‘क्षमतामा आधारित हो’ भन्दै हात झिक्ने प्रवृत्तिमा देखिएको छ।
काम सुनिश्चित छैन भने किन इन्टर्नसिप?
कलेज पक्षले काम कन्फर्म नगरिएको दाबी गर्दै उम्किन खोजे पनि यसले गम्भीर प्रश्न उठाएको छ कामको कुनै सुनिश्चितता छैन भने इन्टर्नसिप कार्यक्रम किन सञ्चालन गरियो?
विद्यार्थीबाट लाखौँ रुपैयाँ असुल्नुको नैतिक आधार के हो?
लिखित सम्झौता, स्पष्ट शर्त र जोखिम व्यवस्थापनबिना विद्यार्थीलाई विदेश पठाइनु शैक्षिक संस्था होइन, दलालको शैली भएको विद्यार्थीहरूको आरोप छ।
आन्दोलनलाई दोष, बदमाशी लुकाउने प्रयास
विद्यार्थीले अन्यायविरुद्ध आवाज उठाएपछि कलेज पक्षले उल्टै ‘प्रोटेस्टले इमेज डाउन गर्यो’ भन्ने तर्क अघि सारेको छ।
तर विद्यार्थीहरू भन्छन्:“पहिले व्यवस्थापनमा असफल, पछि विरोध गर्दा दोष हामीमाथि थोपरियो।”
सरकारी कार्ड, कानुनी प्रक्रिया र रोजगारी अनुमति जस्ता आधारभूत विषयको तयारी नगरी विद्यार्थी पठाउनु नै कलेजको गम्भीर लापरवाही भएको उनीहरूको दाबी छ।
शुल्कमा अपारदर्शिता, भ्रम र शंका
इन्टर्नसिप खर्चबारे कलेजले सुरुदेखि नै स्पष्टता नदिँदा १५ लाखदेखि ६० लाख रुपैयाँसम्मको हल्ला फैलिएको छ।
शुल्क संरचना सार्वजनिक गर्न आनाकानी गर्नुले आर्थिक अनियमितताको आशंका झन् बलियो बनाएको छ।
एजेन्टको नाममा पन्छिने कलेज
केही विद्यार्थी एजेन्टमार्फत ठगीमा परेपछि कलेजले ‘एजेन्टको गल्ती’ भन्दै जिम्मेवारीबाट पन्छिने गरेको आरोप छ।
तर प्रश्न उस्तै छ:
कलेजकै कार्यक्रममा संलग्न एजेन्टको जिम्मेवारी कलेजले नलिने हो भने विद्यार्थी कसले जोगाउने?
यो विवाद अब व्यक्तिगत गुनासोको विषय रहेन। विद्यार्थीको भविष्य, विदेशमा नेपालको छवि र शैक्षिक संस्थाको विश्वसनीयतासँग जोडिएको राष्ट्रिय चासोको विषय बनेको छ।
द ब्रिटिस कलेजको भूमिकामाथि निष्पक्ष र कडा छानबिन,पीडित विद्यार्थीलाई क्षतिपूर्ति र न्याय,इन्टर्नसिप र विदेशी कार्यक्रमलाई कडा नियमन,इन्टर्नसिपको नाममा विद्यार्थीलाई प्रयोग गरेर जिम्मेवारीबाट पन्छिने प्रवृत्तिलाई अब राज्यले रोक्नैपर्छ।
नत्र, यस्ता कलेजहरूले भविष्यमा पनि विद्यार्थीको सपना बेचेर मनपरी गर्ने बाटो खुला नै रहनेछ।































