क्रिकेटले नेपालीलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : राष्ट्रपति

888
shares
Nabil bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । यस्तो ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा समेत व्यक्त गरे ।

राष्ट्रपति भवन शीतल निवासमा सोमाबार आयोजित विश्व कप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ । क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ ।’

आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको उनको भनाई थियो ।

नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिनुभएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।

उनले भने, ‘नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने हाम्रा महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि व्यक्त गरेका छन् ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited