सेनाको बोलेरो दुर्घटना, अमलदारको मृत्यु
वि.सं.२०८२ पुस २२ मंगलवार
shares
जुम्ला । मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा एकजना अमलदारको मृत्यु भएको छ । हनुमान ध्वज गुल्म हुटुबाट रारादेखि भुलभुलेसम्म सैनिक पुर्याएर फर्किँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको हो ।मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार दुर्घटनामा परी हनुमान ध्वज गुल्मका अमलदार चालक हरिसिंह ऐडीको मृत्यु भएको हो। बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका ऐडीलाई मुगु अस्पतालले बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो।
न १ झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ स्थित पिना प्रहरी चौकीदेखि अगाडि पर्ने आलादुना खोलाको मोडमा दुर्घटनामा परेको हो ।
आइतबार साँझ ७ बजेर ७ मिनेटमा दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो ।प्रहरीका अनुसार बोलेरो सडकबाट करिब २ सय मिटर तल खसेको थियो। गम्भीर घाइते भएका चालक ऐडीलाई राति १० बजे मुगु अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा बचाउन नसकिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।































