सञ्चयकोष चोकबाट दुई बालिकाको उद्धार, मानव बेचबिखनको आरोपमा दुई जना पक्राउ

474
shares
Nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित सञ्चयकोष चोक नजिकको सडक खण्डबाट शङ्कास्पद अवस्थामा ट्याक्सीमा राखेर लगिँदै गरेका दुई जना बालिकाको प्रहरीले उद्धार गरेको छ। सो घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

यही पौष १२ गते राति करिब १२ः३० बजे बा.२ ज २३२७ नम्बरको ट्याक्सीमा शङ्कास्पद तवरले दुई जना बालिकालाई राखी लिएर जान लागेको अवस्थामा प्रहरीले फेला पारी ट्याक्सीको पछाडी सिटमा रहेका उनीहरूको उद्धार गरेको हो।

 

प्रहरीका अनुसार ट्याक्सीभित्र रहेका राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान–प्रदान गर्ने, रकमको विषयमा सौदाबाजी गर्ने तथा महिला तथा बालबालिकालाई ललाई–फकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका व्यक्तिहरूमा काभ्रेपलान्चोक पनौती नगरपालिका–१ घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१ बस्दै आएका २६ वर्षीय राजन तामाङ र दोलखा मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं लोलाङ बस्दै आएका ३४ वर्षीय लक्ष्मण तामाङ रहेका छन्।

 

घटनास्थलबाट बा.२ ज २३२७ नम्बरको ट्याक्सी एक थान, रेडमी कम्पनीको मोबाइल एक थान र सामसुङ कम्पनीको मोबाइल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।

 

पक्राउ परेका दुवैजनामाथि अभद्र व्यवहार तथा मानव बेचबिखन तथा ओसारपसार कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। साथै, प्रतिवादी लक्ष्मण तामाङको हकमा यसअघि मिति २०७३।०६।३० गते जिल्ला प्रहरी कार्यालय दोलखामा कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दा दर्ता भएको तथ्य पनि खुलेको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited