माघ १ देखि बीमा क्षेत्रका सबै भुक्तानी बैंक खातामार्फत अनिवार्य

1.5K
shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका सबै कम्पनीलाई अबदेखि नगद वा चेकमार्फत भुक्तानी नगर्न कडा निर्देशन दिएको छ। प्राधिकरणले मंगलबार परिपत्र जारी गर्दै जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनी तथा पुनर्बीमा दलाल कम्पनीलाई आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा बैंक खातामार्फत मात्रै गर्नुपर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको हो।

परिपत्रअनुसार बीमा दाबी भुक्तानी, अभिकर्ता तथा दलाललाई दिइने कमिसन, कर्मचारीको तलब, सेवा शुल्क, परामर्श शुल्कलगायत सम्पूर्ण आर्थिक कारोबार अब बैंकिङ प्रणालीमार्फत नै गर्नुपर्नेछ। नगद वा चेकमार्फत हुने कारोबारलाई पूर्ण रूपमा निरुत्साहित गर्ने प्राधिकरणको नीति रहेको छ।

प्राधिकरणले यो व्यवस्था लागू गर्नुको उद्देश्य आर्थिक पारदर्शिता बढाउने, गैरनगद कारोबारलाई प्रवर्द्धन गर्ने, मनी लन्डरिङको जोखिम न्यूनीकरण गर्ने तथा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नु रहेको जनाएको छ।

बीमा क्षेत्रमा हुने आर्थिक कारोबारलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउन यो निर्णय महत्वपूर्ण हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ। निर्देशनको प्रभावकारी कार्यान्वयनमा कुनै लापरवाही भए आवश्यक कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

civil hospital
Hams Hospitals