नगद नियन्त्रणतर्फ सरकारको कदम, बैंकिङ प्रणालीमा कडाइ
वि.सं.२०८२ पुस २५ शुक्रवार
shares
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीले अब ५ लाख रुपैयाँसम्मको कारोबार मात्रै अनलाइनमार्फत गर्न पाउने भएका छन्।
राजपत्रमा प्रकाशित भइसकेको सरकारी निर्णय कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद कारोबारसम्बन्धी नयाँ निर्देशन जारी गरेको हो।
नयाँ व्यवस्थाअनुसार अब वस्तु तथा सेवा खरिदका लागि ५ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्नुपरेमा अनिवार्य रूपमा चेक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न, झिक्न वा अन्य वित्तीय कारोबार गर्नका लागि पनि चेक अनिवार्य गरिएको छ।
यसअघि चेक क्लियरिङ तथा भुक्तानीसम्बन्धी कारोबारमा १० लाख रुपैयाँसम्म चेकविनै कारोबार गर्न पाउने व्यवस्था थियो। तर, उक्त व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले सीमा घटाएर ५ लाख रुपैयाँमा झारेको हो।
राष्ट्र बैंकको निर्देशनमा भने वैकल्पिक व्यवस्था पनि गरिएको छ। निक्षेपकर्ता वा बचतकर्ताले कुनै विशेष कारण खुलाएर नगद भुक्तानीको माग गर्दै निवेदन दिएमा, सो निवेदनको व्यहोरा उचित देखिएमा ५ लाख रुपैयाँभन्दा बढी नगद भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
नगद कारोबार नियन्त्रण, वित्तीय पारदर्शिता अभिवृद्धि तथा अवैध आर्थिक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय लिइएको राष्ट्र बैंकको भनाइ छ।































