नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

1.2K
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले पुस २८ गते सूचना जारी गर्दै बोलकबोल प्रक्रियामार्फत उक्त ऋणपत्र बिक्री गर्न लागिएको जनाएको हो।

‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३’ नाम दिइएको यो ऋणपत्रका लागि पुस २८ गते सोमबार मध्यान्ह २ बजेसम्म आवेदन दिन सकिनेछ। बोलकबोलबाट निर्धारण हुने ब्याजदरअनुसार ऋणपत्रको सावा तथा ब्याज भुक्तानी २०८३ पुस २८ गते गरिनेछ। ब्याज भुक्तानी भने अर्धवार्षिक रूपमा हुनेछ।

यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणनफलमा, कुल आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंक वा अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिनका लागि प्रयोग गर्न सक्नेछन्। तर यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दातमा भने गणना गर्न पाइने छैन। वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपात गणनामा भने यसलाई समावेश गर्न सकिनेछ।

सूचना अनुसार बोलकबोल गर्दा ब्याजदर दशमलव पछिको चार अंकसम्म उल्लेख गर्नुपर्नेछ। आह्वान गरिएको रकम बाँडफाँट गर्दा एकल ब्याजदर कायम गरिनेछ र सोही दर वा सोभन्दा कम दरमा बोल गर्ने संस्थाहरूलाई प्राथमिकता दिइनेछ। समान ब्याजदरमा माग बढी भएमा प्रो–राटा आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ।

बोलकबोल स्वीकृत भइसकेपछि पर्याप्त मौज्दात नहुँदा भुक्तानी गर्न नसकेमा सम्बन्धित संस्थालाई २.५० प्रतिशत हर्जाना लगाइने र ६ महिनासम्म अन्य बोलकबोल प्रक्रियामा सहभागी हुन नपाउने गरी कारबाही गरिने राष्ट्र बैंकले चेतावनी दिएको छ। यससम्बन्धी थप जानकारीका लागि मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जनाएको छ।

civil hospital
Hams Hospitals