दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित

15.4K
shares
Nabil bank

काठमाडौं । ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत चौथो दिन हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित उक्त अभियान सञ्चालन भइरहेको छ। माघ २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ। यस अवधिभर ट्राफिक नियम, सुरक्षित यात्रा र सडक अनुशासनसम्बन्धी व्यापक जनचेतना फैलाउने कार्यक्रमहरू गरिने छन्।

 

चौथो दिनको अभियानअन्तर्गत ६ हजार ५ सय २१ जना यात्रु तथा पैदलयात्रीलाई जेब्राक्रसिङ प्रयोग गरी सुरक्षित तरिकाले सडक पार गर्न सिकाइएको छ। त्यस्तै, ६ सय जना सवारी चालकको एकदिने आँखा स्वास्थ्य परीक्षण गरिएको छ। स्कुल तथा कलेजका ९ सय ५१ जना विद्यार्थीलाई ट्राफिक सचेतना प्रदान गरिएको छ भने ३ सय ९३ जना ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ।

 

यसैगरी, २ हजार २ सय १७ जनालाई रात्रीकालीन विशेष सचेतना, २ हजार ३ सय ९७ जना चालक तथा परिचालकसँग ‘२ मिनेट कार्यक्रम’, ५ हजार २ सय ५ जना दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी चालकलाई ट्राफिक सचेतना प्रदान गरिएको छ।

 

लेन नियम उल्लंघन, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक लाइट उल्लंघन तथा तीव्र गतिमा सवारी चलाउने २ सय ३६ जनालाई सचेतनामूलक कक्षामा सहभागी गराइएको छ। ६ सय १५ जनालाई आरक्षण सिट तथा यात्रु–मैत्री व्यवहारसम्बन्धी सचेतना, १ सय जनालाई नागरिक सुनुवाइ कार्यक्रम, १ हजार ४ सय ३० जनालाई प्रभातफेरीमा सहभागी गराइएको छ।

 

त्यस्तै, ५ सय १६ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, ३ सय ५७ जनालाई कानुनी कारबाहीसम्बन्धी सचेतना, १ हजार १ सय ७० जना सवारी चालक अनुमति पत्रको लिखित परीक्षा दिने परीक्षार्थीलाई सचेतना तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ६५ जना नेपाली सेनाका कर्मचारीलाई प्रशिक्षण दिइएको छ।

 

चौथो दिनको विशेष सचेतना अभियानबाट जम्मा २३ हजार ६ सय २४ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन्। साथै, ५ हजार २ सय ४८ जनालाई पर्चा–पम्प्लेट वितरण गरिएको छ भने ट्राफिक नियम, हेल्मेट, सिटबेल्ट, लेन अनुशासन र सुरक्षित सवारीसँग सम्बन्धित २ हजार ५ सय ९५ वटा स्टिकर टाँस गरिएको छ।

 

सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रूप लिन सक्ने यथार्थलाई आत्मसाथ गर्दै सुरक्षित सडक संस्कारको विकास र सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x