करोडौं भुक्तानी नदिँदा स्वास्थ्य बीमा धरापमा, बोर्ड निर्देशकले दिए राजीनामा
वि.सं.२०८२ माघ ४ आइतवार
shares
काठमाडौं । स्वास्थ्य बीमाको भुक्तानी बापत सरकारले करोडौं रुपैयाँ समयमै नदिँदा उत्पन्न संकटबीच स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
सरकारले स्वास्थ्य बीमाअन्तर्गत अस्पतालहरूले उपलब्ध गराएको सेवाको रकम लामो समयदेखि भुक्तानी नगर्दै आएको भन्दै सरकारी तथा निजी अस्पतालहरू आक्रोशित बन्दै आएका थिए । यही विवाद चुलिँदै जाँदा हालै त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सेवा नै रोकेको थियो । टिचिङ हस्पिटलपछि अन्य सरकारी तथा निजी अस्पतालहरूले पनि बीमा कार्यक्रम रोक्ने तयारी थालेका थिए ।
स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्ले तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको कार्यकालमा तनहुँबाट बोर्डमा नियुक्त भएका थिए । बोर्ड नेतृत्वमा रहेर उनले बीमा कार्यक्रम विस्तार र सुधारका प्रयास गरिरहे पनि सरकारबाट रकम निकासा नहुँदा कार्यक्रम गम्भीर संकटमा परेको उनी निकट स्रोतको भनाइ छ ।
हाल सरकारलाई अस्पतालहरूसँग अर्बौं रुपैयाँ बराबरको स्वास्थ्य बीमा भुक्तानी तिर्न बाँकी रहेको बताइन्छ । भुक्तानी नआएपछि अस्पतालहरूले औषधि खरिद, उपकरण सञ्चालन तथा सेवा निरन्तरतामा समस्या भोग्नुपरेको भन्दै बीमा कार्यक्रम रोक्ने निर्णय लिन थालेका हुन् ।
स्वास्थ्य बीमा कार्यक्रम रोकिँदा सबैभन्दा ठूलो मार सर्वसाधारण बीमित नागरिकलाई परेको छ । बीमा कार्ड बोकेर उपचारका लागि अस्पताल पुगेका बिरामीहरू सेवा नपाएर फर्किन बाध्य भएका छन् । यसले सरकारको स्वास्थ्य बीमा नीतिप्रति गम्भीर प्रश्न उठाएको छ ।
डा. काफ्लेको राजीनामापछि स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन बनेको छ । अब सरकार र स्वास्थ्य मन्त्रालयले भुक्तानी समस्या समाधान गर्दै कार्यक्रमलाई कसरी निरन्तरता दिन्छ भन्ने विषयमा सर्वत्र चासो बढेको छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:






























