एक्स्ट्रिम इनर्जी ड्रिंक्स आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेटको प्रसारण टाइटल स्पोन्सर
वि.सं.२०८२ माघ १६ शुक्रवार
shares
काठमाडौं । क्रिकेटप्रेमी नेपाली दर्शकहरूका लागि उत्साहजनक खबर आएको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक्स आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेटको प्रसारण टाइटल स्पोन्सर बनेको छ । विश्वकपका सम्पूर्ण खेलहरू यसपटक एक्स्ट्रिम इनर्जी ड्रिंक्सको मुख्य प्रायोजनमा कान्तिपुर टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ ।
विश्वकै प्रतिष्ठित क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारणसँग जोडिँदै खेल, जोश र ऊर्जाको प्रतिनिधि ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाली क्रिकेटप्रेमीहरूसँग थप नजिकिएको छ । यससम्बन्धी प्रायोजन सम्झौता आज आयोजित एक कार्यक्रमबीच कान्तिपुर टेलिभिजन र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीच सम्पन्न भएको हो । सम्झौतामा कान्तिपुर टेलिभिजनका बिजनेस हेड सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिंक्सका सेल्स हेड पवनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपाली टेलिभिजन च्यानलमार्फत पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट प्रत्यक्ष प्रसारण हुन लागेको हो । कान्तिपुर टेलिभिजनले विश्वकपका सबै खेल प्रत्यक्ष प्रसारण गर्नेछ । खेलहरू कान्तिपुर टेलिभिजनमा अङ्ग्रेजी कमेन्ट्री तथा कान्तिपुर टेलिभिजन–२ मा नेपाली कमेन्ट्रीसहित प्रसारण हुने व्यवस्था गरिएको छ ।
विश्वकपका खेल हुने दिनहरूमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा प्रि–शो तथा पोस्ट–शो विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछन् । ती कार्यक्रमहरूमा क्रिकेट विज्ञहरूसँग खेलको गहिरो विश्लेषण, समीक्षा र छलफल प्रस्तुत गरिनेछ, जसले दर्शकलाई खेलको रोमाञ्च अझ नजिकबाट अनुभूति गराउने अपेक्षा गरिएको छ ।
यस अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विभिन्न सामाजिक सञ्जाल तथा उपभोक्ता–केन्द्रित गतिविधिहरू पनि सञ्चालन गर्ने जनाएको छ । साथै, ४० जना भाग्यशाली क्रिकेटप्रेमीलाई आईसीसी टी–२० विश्वकपका खेलहरू स्टेडियममै पुगेर प्रत्यक्ष अवलोकन गर्ने आकर्षक प्याकेज प्रदान गरिनेछ । उक्त प्याकेजअन्तर्गत विजेताहरूले खेलाडीहरूलाई प्रत्यक्ष रूपमा हेर्न पाउने अवसर समेत प्राप्त गर्नेछन् ।
खेलकुद र युवाको ऊर्जालाई निरन्तर साथ दिँदै आएको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विश्वकप प्रसारणमार्फत नेपाली क्रिकेटप्रेमीहरूसँग अझ बलियो सम्बन्ध स्थापना हुने विश्वास लिएको छ । “खेल, जोश र ऊर्जाको संगम” भन्ने ब्रान्ड भावनाअनुसार आगामी दिनमा पनि अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमसँग सहकार्य गर्दै जाने विषयमा कम्पनीले प्रतिबद्धता जनाएको छ ।


































