भविष्यलाई भाग्यमा होइन बिमाले सुरक्षित गर्नुपर्दछ

वित्तीय साक्षरताबाट आत्मनिर्भर समाज निर्माणको यात्रामा एक बिमा अभियन्ता

573
shares
Nabil bank

 “भविष्यलाई भाग्यमा होइन, बिमाले सुरक्षित गर्नुपर्छ” भन्ने मान्यतालाई जीवन दर्शन बनाएकी दिल माया तामाङ आज नेपाली समाजमा वित्तीय साक्षरताको शान्त तर प्रभावशाली अभियानको परिचित नाम बन्दै गएकी छन्। बिमालाई अझै पनि जटिल प्रक्रिया, ठूलो प्रिमियम र सम्पन्न वर्गका लागि मात्र सीमित विषय ठान्ने आम धारणा चिर्दै उनी समाजका हरेक तह, वर्ग र समुदायसम्म यसको वास्तविक अर्थ र महत्व पुर्‍याउने अभियानमा सक्रिय छन्।

दिल मायाका लागि बिमा केवल वित्तीय उत्पादन होइन, चेतनाको विषय हो। एउटा दुर्घटना, रोग वा अकाल मृत्युले कसरी सिंगो परिवारलाई आर्थिक रूपमा दशकौँ पछाडि धकेल्न सक्छ भन्ने गहिरो बुझाइले उनलाई यो क्षेत्रमा समर्पित बनाएको छ। “बिमा विलासिता होइन, करकाप होइन, यो जीवनको आधार हो,” उनी स्पष्ट शब्दमा भन्छिन्। आर्थिक सुरक्षाको आधारशिला बिना आत्मनिर्भर समाज सम्भव छैन भन्ने विश्वास उनको अभियानको केन्द्रमा छ।

सिन्धुली जिल्लाको मरीन झाडीमा जन्मिएकी दिल माया सीमित आर्थिक र शैक्षिक अवसरबीच हुर्किइन्। विद्यालयसम्म पुग्नुपर्ने लामो दूरी, सीमित साधन र पारिवारिक अवस्थाले उनलाई पटक–पटक चुनौती दियो। तर चेतनाको शक्तिले सीमालाई जित्न सकिन्छ भन्ने विश्वासका साथ उनले पढाइलाई निरन्तरता दिइन्। हाल उनी स्नातक तहको अध्ययन पूरा गर्ने चरणमा छिन्।

कोभिड–१९ महामारीले संसारलाई अनिश्चिततामा धकेलेको समय नै उनको जीवनको निर्णायक मोड बन्यो। लकडाउनका दिनहरूमा जूम मिटिङमार्फत बिमाबारे सुन्दै जाँदा उनले पहिलो पटक बिमालाई आफ्नो जीवनसँग जोडेर बुझ्न थालिन्। त्यही क्रममा आफूले कमाएको सानो आम्दानीबाट बिमा गर्दा आमाबुबालाई हकदार बनाउन सकिने थाहा पाउँदा उनी भावनात्मक रूपमा छोइन्। “भोलि मलाई केही भयो भने मेरो बिमाको रकम बुवा–आमाले पाउनुहुन्छ,” भन्ने सोचले बिमाप्रति उनको दृष्टिकोण पूर्ण रूपमा बदलियो।

बुझाइ गहिरिँदै जाँदा उनले बिमालाई जीवन पद्धतिका रूपमा स्वीकार गरिन्। बचत गर्ने बानी, जोखिम सुरक्षा, आवश्यक पर्दा कर्जाको सुविधा र दीर्घकालीन योजना बनाउन सहयोग गर्ने यस्तो संयन्त्र अरू कतै नदेखेको उनी बताउँछिन्। यही सोचले उनलाई बिमा अभिकर्ताको भूमिकामा ल्यायो।

दिल मायाको अभियान सहरमा मात्र सीमित छैन। उनी गाउँका किसान, मजदुर, घरेलु महिला, साना व्यवसायी, एकल महिला, बाटोमा मकै बेच्ने महिला र वैदेशिक रोजगारीमा जाने युवासम्म पुगेर बिमाको महत्व बुझाइरहेकी छन्। “बचत छैन” भन्दै बिमाबाट टाढा भाग्ने प्रवृत्तिलाई सोचको समस्या ठान्दै उनी सानो रकमबाट पनि बिमा सुरु गर्न सकिने सन्देश दिन्छिन्।

उनको बुझाउने शैली सरल र जीवनसँग जोडिएको छ। “मोटरसाइकल किन्दा बिमा अनिवार्य हुन्छ भने हाम्रो अमूल्य जीवनलाई बिना बिमा छोड्नु कत्तिको बुद्धिमानी हुन्छ?” भन्ने प्रश्नमार्फत उनले धेरैको सोच बदल्न सफल भएकी छन्। उनका लागि बिमा बेच्नु उद्देश्य होइन, चेतना बाँड्नु ध्येय हो।

अरूलाई सिकाउनुअघि आफू उदाहरण बन्नुपर्छ भन्ने मान्यताअनुसार उनले स्वयं करिब एक करोड रुपैयाँ बराबरको जीवन बिमा गरेकी छन्। यसले उनको प्रतिबद्धता र विश्वासलाई अझ बलियो बनाएको छ। बिमासँगै उनले महिलालाई लक्षित गर्दै तामाङ पहिरन उत्पादनको सानो उद्योग पनि सञ्चालन गरिरहेकी छन्। मौलिक संस्कृतिको जगेर्ना र बच्चा भएका महिलालाई रोजगारी दिने उद्देश्यले सुरु गरिएको यस उद्योगमा हाल १०–१२ जना महिला आबद्ध छन्।

उनका अनुसार बिमा व्यवसाय इमान्दारिता र विश्वासमा आधारित हुनुपर्छ। ग्राहकको आय, परिवारको अवस्था र आवश्यकताबिना बिमा गराउनु गलत हुने उनी बताउँछिन्। “एक पटक विश्वास टुटेपछि यो पेशा नै समाप्त हुन्छ,” उनी भन्छिन्।

केही वर्षअघि विवाह बन्धनमा बाँधिएकी दिल मायाकी हाल १६ महिनाकी छोरी छिन्। आमा बनेपछि बिमाको महत्व उनले अझ गहिरो रूपमा महसुस गरेकी छन्। बच्चाको भविष्यलाई भाग्यमा छोड्ने प्रवृत्तिप्रति उनी स्पष्ट रूपमा असहमत छिन्। “जुन जोखिमको समाधान सम्भव छ, त्यसमा भाग्यवादी हुनु हुँदैन,” उनको धारणा छ।

छोरीलाई काखमा लिएर भविष्यतर्फ हेर्दा, आफूले बिमा गरेर मात्र होइन, बिमा अभियन्ताको रूपमा धेरै परिवारलाई जोखिमबाट सुरक्षित बनाउन पहल गरेकोमा उनलाई गर्व लाग्छ। उनका लागि बिमा व्यवसाय होइन, आत्मनिर्भर, सुरक्षित र सचेत समाज निर्माणतर्फको निरन्तर यात्रा हो।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited