नेपालको दूरसञ्चार र डिजिटल प्रतिभा विकासमा हुवावेको दुई दशकको योगदान
वि.सं.२०८२ माघ २१ बुधवार
shares
काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रको विकासमा हुवावेले विगत दुई दशकदेखि निरन्तर र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। टुजी, थ्रीजी हुँदै फोरजी सेवाको विस्तारसम्म आइपुग्दा हुवावेले नेपालका टेलिकम कम्पनीहरूसँग सहकार्य गर्दै नेटवर्क पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ। यसका अतिरिक्त डाटा सेन्टर, आईसीटी पूर्वाधार, नेटवर्क निर्माण, स्मार्टफोन तथा कन्ज्युमर इलेक्ट्रोनिक्स क्षेत्रमा पनि कम्पनीको उल्लेखनीय उपस्थिति रहँदै आएको छ।
पूर्वाधार विकाससँगै हुवावेले युवा प्रतिभा विकासलाई विशेष प्राथमिकतामा राख्दै आएको छ। दक्ष जनशक्तिलाई नेपालको डिजिटल भविष्यको आधारस्तम्भका रूपमा स्वीकार गर्दै कम्पनीले राष्ट्रिय डिजिटल प्राथमिकतासँग मेल खाने सीपयुक्त आईसीटी जनशक्ति उत्पादनका लागि विभिन्न पहलहरू सञ्चालन गरिरहेको छ।
यही उद्देश्यअनुसार हुवावे नेपालले सन् २०१९ मा ‘सिड्स फर द फ्युचर’ कार्यक्रम नेपालमा सुरु गरेको हो। हुवावेको विश्वव्यापी संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन हुँदै आएको यस कार्यक्रमको मुख्य उद्देश्य युवा आईसीटी प्रतिभा विकास, डिजिटल नवप्रवर्तनको प्रवर्द्धन तथा भावी प्रविधि नेतृत्व तयार गर्नु हो।
कार्यक्रम सुरु भएयता चीन, थाइल्यान्ड र सिंगापुरमा भौतिक तथा भर्चुअल रूपमा सञ्चालन गरिएका अन्तर्राष्ट्रिय प्राविधिक तथा सांस्कृतिक आदान–प्रदान कार्यक्रममा ४९ जना नेपाली विद्यार्थी सहभागी भई तालिम प्राप्त गरिसकेका छन्। त्यसैगरी नेपालमै सञ्चालन गरिएका स्थानीय तालिम तथा डिजिटल सीप विकास कार्यक्रममार्फत १७० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्। विश्वव्यापी रूपमा सन् २००८ मा थाइल्यान्डबाट सुरु भएको यस कार्यक्रमबाट हालसम्म १४० भन्दा बढी देशका १९ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन्।
सन् २०२५ मा पाँच जना उत्कृष्ट नेपाली विद्यार्थी ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका लागि छनोट भएका थिए। उक्त संस्करणमा विश्वका १० भन्दा बढी देशका ६५ भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले फाइभजी, कृत्रिम बुद्धिमत्ता (एआई) र क्लाउड कम्प्युटिङसम्बन्धी व्यवहारिक आईसीटी तालिम लिँदै डिजिटल अर्थतन्त्रमा उदीयमान प्रविधिबारे प्रत्यक्ष अनुभव हासिल गरेका थिए।
त्यसैगरी सहभागीहरूले हुवावेको स्मार्ट पीभी (PV) समाधानसम्बन्धी अध्ययन पनि गरेका थिए, जहाँ सौर्य ऊर्जा र ऊर्जा व्यवस्थापनको संयोजनले दिगो सहर तथा औद्योगिक सञ्चालन कसरी सम्भव बनाइरहेको छ भन्ने विषयमा जानकारी दिइएको थियो। स्मार्ट गभर्नेन्स मोडलमार्फत एआईलाई शासन प्रणालीमा समावेश गरी कार्यक्षमता र नागरिक–केन्द्रित सेवा प्रवर्द्धन गर्ने अभ्यासबारे समेत विद्यार्थीहरूले अध्ययन गरेका थिए।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले ड्रोन प्रविधि तथा स्वचालित प्रणालीको प्रयोग कृषि, विपद् व्यवस्थापन र सार्वजनिक सेवामा कसरी भइरहेको छ भन्ने विषयमा अनुभव आदान–प्रदान गरेका थिए। साथै, इनोएक्स एकेडेमीमार्फत चीनको ‘इनोभेसन इकोसिस्टम’ अवलोकन गर्दै स्टार्टअप विकास र प्रविधि उद्यमशीलताबारे विस्तृत जानकारी प्राप्त गरेका थिए।
कार्यक्रमअन्तर्गत विश्वका प्रतिष्ठित व्यवसायिक व्यक्तित्वहरूसँग नवप्रवर्तन र नेतृत्व विकाससम्बन्धी छलफल गरिएको थियो भने चीनका विभिन्न सहरस्थित नवप्रवर्तन केन्द्रहरूको भ्रमणमार्फत विद्यार्थीहरूले प्रविधिको विकासलाई नजिकबाट अनुभव गरेका थिए।
यस कार्यक्रमले विद्यार्थीहरूलाई प्राविधिक ज्ञानसँगै विश्वभरका सहकर्मीहरूसँग सञ्जाल विस्तार, विचार आदान–प्रदान तथा अन्तर–सांस्कृतिक मित्रता निर्माण गर्ने अवसर प्रदान गरेको छ।
हुवावे नेपालले ‘सिड्स फर द फ्युचर’ कार्यक्रम चर्चित विश्वविद्यालयहरू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युनेस्कोसँगको सहकार्यमा सञ्चालन गर्दै आएको छ। यसले राष्ट्रिय युवा सशक्तीकरण तथा डिजिटल विकास नीतिसँग कार्यक्रमको सामञ्जस्य सुनिश्चित गरेको हुवावेले जनाएको छ।































