कुखुरा–बाख्रासँग भोट माग्ने धादिङ–१ को चुनावी शैलीमाथि बहस

3.6K
shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू घरदैलोमा पुगेर मतदातासँग संवाद गरिरहेका छन् । तर धादिङ क्षेत्र नम्बर–१ मा एक उम्मेदवारको प्रचारशैलीले भने चुनावी एजेन्डाभन्दा बढी चर्चा र बहस जन्माएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक अभियन्ता आशिका तामाङलाई धादिङ–१ बाट उम्मेदवार बनाएको छ । उनी प्रचारप्रसारमा सक्रिय देखिए पनि भोट माग्ने शैलीलाई लिएर सामाजिक सञ्जालदेखि स्थानीय चोक–चौतारासम्म मिश्रित प्रतिक्रिया देखिएको छ ।

घण्टी चुनाव चिन्ह बोकेकी तामाङले कुखुराको भालेसँग घण्टी बजाउँदै ‘दिदीलाई भोट हाल है’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । यसअघि बाख्रासँग भोट मागेको दृश्य पनि सार्वजनिक भएको थियो । यी दृश्यहरूलाई कतिपयले सृजनात्मक प्रचार भनेका छन् भने धेरैले यसलाई चुनावी ‘तमासा’ को संज्ञा दिएका छन् ।

 

सामाजिक सञ्जाल प्रयोगकर्ता राजेश थापाले लेखेका छन्,‘कहिले बाख्रालाई, कहिले भालेलाई भोट हाल भन्नु चुनाव प्रचार होइन, शैली सुधार्नुपर्छ ।’अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता नारायण न्यौपानेले व्यंग्य गरेका छन्, ‘मान्छेले भोट देला नदेला, कुखुरा–बाख्राले त पक्कै देलान् !’आलोचना सामाजिक सञ्जालमै सीमित रहेन । सिद्धलेक गाउँपालिका–४ बुङचुङ चोकमा भोट माग्न पुगेकी तामाङसँग स्थानीय युवाहरूले विकास, प्रशासनिक सुधार र राजनीतिक दृष्टिकोणबारे प्रश्न गरेका थिए ।

 

त्यहाँ उपस्थित केशव सिलवालले सोधेको प्रश्न थियो,‘राजनीतिक सुधार र दिगो विकासतर्फ तपाईंको स्पष्ट धारणा के हो ?’ यसको जवाफ तामाङले आफू नयाँ भएको, सामाजिक कामबाट राजनीतिमा आएको र घोषणापत्र दिगो विकासमै केन्द्रित हुने बताएर दिइन् । तर उपस्थित केही स्थानीयले उक्त जवाफ पर्याप्त स्पष्ट नभएको टिप्पणी गरे ।तामाङले आफ्नो सामाजिक कामको उदाहरण दिँदै घाइते कुकुरको उपचार गराएको तस्बिर देखाएपछि केही स्थानीयले प्राणीसँग होइन, मान्छेसँग भोट माग्नुस् भन्ने प्रतिक्रिया दिएका थिए । घटनास्थलमा रहेका केही युट्युबरहरू संवादमा सहभागी हुन खोज्दा स्थानीयले उम्मेदवारसँग प्रत्यक्ष कुरा गर्न चाहेको भन्दै रोकेको पनि बताइन्छ ।

 

यो घटनाक्रमपछि सामाजिक सञ्जाल र स्थानीय तहमा एउटा प्रश्न उठेको छ । यो नयाँ किसिमको राजनीतिक शैली हो कि विषयवस्तुभन्दा बाहिर जाने प्रचार ? रास्वपाले परम्परागत राजनीति र शैलीको आलोचना गर्दै आएको सन्दर्भमा उम्मेदवारको यस्तो प्रस्तुति झनै बहसको विषय बनेको देखिन्छ ।

यद्यपि, समर्थकहरू भने यसलाई जनतासँग घुलमिल हुने सहज तरिका र फरक शैलीको रूपमा व्याख्या गर्छन् । सामाजिक अभियन्ताबाट राजनीतिमा आएकी तामाङले परम्परागत भाषणभन्दा फरक तरिकाले ध्यान खिच्ने प्रयास गरेकी हुन् । धादिङ–१ का मतदाताले यसलाई कसरी लिन्छन् ? सृजनात्मक प्रचारका रूपमा कि गम्भीरताको कमीका रूपमा भन्ने त्यो भने अन्ततः मतपेटिकाले नै निर्णय गर्नेछ ।

अरु आकांक्षीलाई पछाडि पारेर टिकट पाएकी आशिका तामाङ फौजदारी कसुरमा भक्तपुर जिल्ला अदालतबाट एक वर्षअघि दोषी ठहर भएकी थिइन् । रास्वपाले अन्य आकांक्षीलाई पाखा लगाएर दोषी ठहर भएको व्यक्तिलाई टिकट दिएपछि जिल्लाका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

 

सुधारको नाम दिएर समाजमा अराजकता फैलाइरहेकी आशिकाले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकी थिइन् । साँगाको पुल तर्न पैसा उठाएको विरोधमा टिकट च्यातिन् । जसविरुद्ध भक्तपुरको सूर्यविनायक नगरपालिकाका नगरप्रहरी वीरबहादुर अधिकारीले मुद्दा दायर गरेका थिए । २०८१ माघ १५ गते दर्ता भएको मुद्दाको दर्ता नम्बर ०८१–सि १–०६७३ रहेको छ ।

 

रामचन्द्र कार्की

civil hospital
Hams Hospitals