बीमाको भुक्तानी नगरे महानगर आफैँले तिर्छ : मेयर चिरीबाबु महर्जन

843
shares
Nabil bank

काठमाडौं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले स्वास्थ्य बीमाको भुक्तानी नगरे महानगरपालिकाले आफैँले सो रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर महर्जनले बीमाबापतको रकम समयमै भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले यदि भुक्तानी नआएर सेवा बन्द गर्नुपर्ने अवस्था आयो भने त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले नै व्यहोर्नुपर्ने उल्लेख गरे।

महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा भुक्तानीको जिम्मेवारी महानगरलाई सुम्पेमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे। उनले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले सेवा निरन्तरतामा कुनै सम्झौता नहुने बताए।

कार्यक्रममा मेयर महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको जानकारी पनि दिए। उनका अनुसार उक्त स्वास्थ्य केन्द्र निकट भविष्यमै सञ्चालनमा आउनेछ।

नयाँ केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत ललितपुर महानगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने मेयर महर्जनको भनाइ छ। साथै, ललितपुर महानगरपालिका र पाटन अस्पतालबीचको यो सहकार्य देशभरका ७५३ वटै स्थानीय तहका लागि उदाहरणीय अभ्यास बन्ने उनले विश्वास व्यक्त गरे।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited