टी–२० विश्वकप: वेष्ट इन्डिजको सहज जित, पाकिस्तानको रोमाञ्चक सुरुवात
वि.सं.२०८२ माघ २४ शनिवार
shares
काठमाडौँ । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा वेष्ट इन्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको छ। भारतको इडेन गार्डेनमा सम्पन्न खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले ५ विकेट गुमाउँदै १८२ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो।
वेष्ट इन्डिजका लागि शिमरन हेटमायरले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ६४ रन जोडे भने ब्रान्डन किंगले ३० बलमा ३५ रनको योगदान दिए। स्कटल्याण्डका ब्राड क्युरीले २ विकेट लिए।
लक्ष्य पछ्याएको स्कटल्याण्ड १८ ओभर ५ बलमै अलआउट हुँदै १४७ रनमै सीमित भयो। टोलीका कप्तान रिच्चि ब्रिङटनले सर्वाधिक ४२ रन बनाए। वेष्ट इन्डिजका रोमारियो शेफर्डले उत्कृष्ट बलिङ गर्दै २० रन खर्चेर ५ विकेट लिए भने जासन होल्डरले ३ विकेट हात पारे। यो समूह ‘सी’ अन्तर्गतको खेल हो।
आजको तेस्रो खेलमा भारत र अमेरिका आमनेसामने हुँदैछन्। यो खेल मुम्बईको वाङ्खेडे मैदानमा हुनेछ।
उद्घाटन खेलमा पाकिस्तानको संघर्षपूर्ण तर सनसनीपूर्ण जित
टी–२० विश्वकपको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्याण्ड्समाथि रोमाञ्चक ३ विकेटको जित दर्ता गरेको छ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको उक्त खेल श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको हो।
पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स १ बल बाँकी छँदै १४७ रनमा अलआउट भयो। कप्तान स्कट एड्वार्डसले २९ बलमा ३७ तथा बास डे लिडेले २५ बलमा ३० रन बनाए। पाकिस्तानका सल्मान मिर्जाले ३ विकेट लिए भने मोहम्मद नवाज, अब्रार अहमद र सइम अयुबले समान २–२ विकेट लिए।
जवाफमा पाकिस्तानले ३ बल बाँकी छँदै ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। फहिम अशरफले ११ बलमा अविजित २९ रन बनाउँदै टोलीलाई जित दिलाए। सहिबजादा फर्हानले ४७ तथा सइम अयुबले २४ रनको योगदान दिए। यससँगै नेदरल्याण्ड्सले जित नजिक पुगेर अवसर गुमायो।
आइतबार नेपाल मैदानमा
नेपालले टी–२० विश्वकपमा आफ्नो पहिलो खेल आइतबार इङ्गल्याण्डविरुद्ध खेल्नेछ। नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन्।
समूह ‘ए’ मा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया छन्।
समूह ‘बी’ मा अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे छन्।
समूह ‘डी’ मा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई समावेश छन्।































