लाइसेन्स वितरणमा भ्रष्टाचार: यातायात कार्यालयका निमित्त प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा
वि.सं.२०८२ माघ २६ सोमवार
shares
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा अनियमितता गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार तत्कालीन निमित्त कार्यालय प्रमुख मदनप्रसाद देवकोटासहितका कर्मचारीहरूले सरकारी कागजातमा हेरफेर गरेको, परीक्षाको नतिजा फेरबदल गरी अयोग्य व्यक्तिलाई लाइसेन्स दिलाएको आरोप लागेको छ। लाइसेन्स वितरण प्रक्रियामा नियमविपरीत कार्य गर्दै संगठित रूपमा भ्रष्टाचार गरिएको पुष्टि भएपछि उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले सरकारी सेवामा पारदर्शिता र निष्पक्षता कायम गर्न यस्ता अनियमित कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।




























