होस्टल संचालिका ब्राउनसुगरसहित पक्राउ
वि.सं.२०८२ माघ २९ बिहीवार
shares
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ कात्यायानी चोकस्थित न्यू कश्यप बोईज होस्टलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित होस्टल संचालिका पक्राउ परेकी छन्।
मंगलबार बेलुकी प्रहरीले उक्त होस्टलबाट १ सय ३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो। पक्राउ पर्नेमा सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ घर भएकी ४५ वर्षीया माया कुमारी देवी मिश्र रहेकी छन्।
प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा होस्टलमा खानतलासी गर्दा उक्त लागूऔषध फेला पारेको जनाएको छ। बरामद पदार्थ परीक्षणका लागि प्रयोगशालामा पठाइने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
































