लोकसेवाको प्रश्नपत्र आफैंसँग लगेपछि शाखा अधिकृत उम्मेदवारको परीक्षा रद्द
वि.सं.२०८२ माघ २९ बिहीवार
shares
काठमाडौं। लोकसेवा आयोगले शाखा अधिकृत पदका एक उम्मेदवारको परीक्षा रद्द गरेको छ। परीक्षा सकिएपछि प्रश्नपत्र अनिवार्य रूपमा केन्द्रमै बुझाउनुपर्ने नियम उल्लंघन गर्दै आफैंसँग लगेपछि तुलसी सापकोटामाथि कारबाही गरिएको हो।
दाङको तुलसीपुर उपमहानगरपालिका–१ निवासी सापकोटा माघ २४ गते सञ्चालित राजपत्र तृतीय श्रेणी (शाखा अधिकृत) पदको परीक्षामा सहभागी भएकी थिइन्। तर परीक्षा समाप्तिपछि प्रश्नपत्र उत्तरपुस्तिकासँगै फिर्ता नगरी बाहिर लगेको पुष्टि भएपछि आयोगले उनको परीक्षा रद्द गर्ने निर्णय गरेको जनाएको छ।
लोकसेवा आयोगका अनुसार उक्त कार्य ‘लोकसेवा आयोग ऐन, २०७९’ को दफा ४१ (१) अनुसार कसुर ठहरिएको छ। सोही ऐनको दफा ४१ (२) बमोजिम आयोगको मिति २०८२–१०–२९ को निर्णयअनुसार सम्बन्धित उम्मेदवारको परीक्षा रद्द गरिएको सूचनामा उल्लेख छ।
लोकसेवा आयोगले परीक्षासम्बन्धी अनुशासनमा कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट संकेत दिँदै नियम उल्लंघन गर्ने उम्मेदवारमाथि कडा कारबाही हुने सन्देश दिएको छ।

































