विशेष अदालतको आदेशः पौडेल पाँच लाख धरौटीमा रिहा
वि.सं.२०८२ फागुन ५ मंगलवार
shares
काठमाडौँ । भिजिट भिसा प्रकरणमा घुससम्बन्धी रकम लुकाउन सहयोग गरेको आरोप लागेकी कविता पौडेललाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। मंगलबार अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो।
पौडेलविरुद्ध भ्रष्टाचार (रिसवत) र सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टाछुट्टै अभियोग दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसँग मिलेर भिजिट भिसामार्फत व्यक्तिहरू विदेश पठाउने प्रक्रियामा पौडेलको संलग्नता रहेको दाबी गरिएको छ। आयोगले उनलाई अवैध रूपमा संकलित रकम व्यवस्थापन गर्ने तथा घरजग्गामा लगानीमार्फत परिचालन गर्ने भूमिकामा रहेको आरोप लगाएको छ।
आयोगले भ्रष्टाचारतर्फ ७९ लाख ८० हजार रुपैयाँ तथा सम्पत्ति शुद्धीकरणतर्फ १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको जनाएको छ। आरोपपत्रमा घुसबाट आर्जित रकम पौडेलको नाममा जग्गा खरिद गरी सम्पत्ति शुद्धीकरण गरिएको उल्लेख छ।


























