बञ्चरेडाँडा ल्यान्डफिल साइटमा कडा निषेधाज्ञा : अनधिकृत प्रवेश गरे कारबाही, दुर्घटनामा महानगर जिम्मेवार नहुने
वि.सं.२०८२ फागुन ८ शुक्रवार
shares
काठमाडौं। काठमाडौं महानगरपालिकाले नुवाकोटस्थित बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरेको छ। दैनिक रूपमा २३ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको उक्त साइटमा असुरक्षा र स्वास्थ्य जोखिम बढेपछि महानगरले कडा कदम चालेको हो।
वातावरण व्यवस्थापन विभागका अनुसार फोहोरमैला तथा कवाडी टिप्ने अनधिकृत संकलनकर्ता र अन्य व्यक्तिको अवैध प्रवेशले मानवीय जोखिम मात्र नभई गम्भीर दुर्घटनाको सम्भावना उच्च बनाएको छ। साइटभित्र डोजर, एक्साभेटर, लोडर, जेट र टिप्परजस्ता हेभी सवारी साधन चौबिसै घण्टा सञ्चालनमा रहने भएकाले ज्यानै जाने खतरा रहेको जनाइएको छ।
महानगरले फागुन ८ गतेदेखि प्रवेशमा कडाइ गर्दै अनुमति प्राप्त कर्मचारी, सुरक्षाकर्मी र आधिकारिक रूपमा खटिएका व्यक्तिबाहेक अन्य कसैलाई पनि साइट परिसरमा प्रवेश नगर्न स्पष्ट निर्देशन दिएको छ।
सूचना उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै महानगरपालिकाले अनधिकृत प्रवेशका कारण हुने कुनै पनि दुर्घटनामा कार्यालय जिम्मेवार नहुने स्पष्ट पारेको छ।

































