१४ जीवन बीमा कम्पनीको कोषमा उल्लेख्य विस्तार
वि.सं.२०८२ फागुन १० आइतवार
shares
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्म आइपुग्दा जीवन बीमा कम्पनीहरूको बीमाकोष उल्लेख्य रूपमा बढेको देखिएको छ। १४ वटा जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार कुल जीवन बीमाकोष ८ खर्ब ७० अर्ब ६७ करोड १७ लाख रुपैयाँ पुगेको छ।
गत वर्षको सोही अवधिमा यस्तो कोष ७ खर्ब ४१ अर्ब २२ करोड ३६ लाख रुपैयाँ थियो। यस आधारमा एक वर्षको अवधिमा बीमाकोष १७.४६ प्रतिशतले वृद्धि भएको देखिन्छ। बीमाकोष भनेको भविष्यमा बीमितलाई दाबी भुक्तानी सुनिश्चित गर्न छुट्टै सञ्चित गरिने रकम हो, जसले कम्पनीको दीर्घकालीन वित्तीय स्थायित्व र दाबी तिर्ने क्षमतालाई प्रतिबिम्बित गर्छ।
कोषको आकारका आधारमा बजारमा अझै पनि नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीको बीमाकोष २ खर्ब ५५ अर्ब ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ।
दोस्रो स्थानमा एलआईसी नेपाल (१ खर्ब ३९ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ) र तेस्रोमा नेशनल लाइफ (९७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ) रहेका छन्।
त्यस्तै, हिमालयन लाइफ को ८२ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनी को ६५ अर्ब ७३ करोड ५० लाख रुपैयाँ, एशियन लाइफ को ५० अर्ब ८५ लाख रुपैयाँ र सूर्यज्योति लाइफ को ४६ अर्ब १७ करोड १० लाख रुपैयाँ बीमाकोष रहेको छ।
मध्यम तथा साना कम्पनीतर्फ मेट लाइफ को ३१ अर्ब ९ करोड ३९ लाख रुपैयाँ, सिटिजन लाइफ को २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ को २१ अर्ब ९० करोड ३४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ को १५ अर्ब ८५ करोड ४ लाख रुपैयाँ, आइएमई लाइफ को १५ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ को १५ अर्ब २४ करोड १३ लाख रुपैयाँ तथा सन नेपाल लाइफ को ११ अर्ब ४ करोड ७९ लाख रुपैयाँ बीमाकोष कायम छ।
वृद्धिदरका आधारमा भने विस्तारोन्मुख कम्पनीहरू अग्रसर देखिएका छन्। आइएमई लाइफको बीमाकोष ४१.२७ प्रतिशतले बढेको छ। त्यसपछि सिटिजन लाइफ (३५.३९ प्रतिशत), प्रभु महालक्ष्मी लाइफ (३३.३१ प्रतिशत), रिलायबल नेपाल लाइफ (३२.१६ प्रतिशत) र सानिमा रिलायन्स लाइफ (३१.९२ प्रतिशत) रहेका छन्।
ठूला तथा पुराना कम्पनीहरूको वृद्धिदर तुलनात्मक रूपमा मध्यम देखिएको छ। नेशनल लाइफ २५.१६ प्रतिशत, सन नेपाल लाइफ २३.१७ प्रतिशत, सूर्यज्योति लाइफ २२.३६ प्रतिशत, हिमालयन लाइफ १७.७५ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्स १७.४८ प्रतिशतले वृद्धि भएका छन्। एलआईसी नेपाल (९.९० प्रतिशत) र राष्ट्रिय जीवन बीमा कम्पनी (६.०५ प्रतिशत) को वृद्धिदर भने अपेक्षाकृत न्यून देखिएको छ।
समग्रमा बीमा व्यवसाय विस्तार, प्रिमियम संकलन वृद्धि तथा लगानी आयमा सुधारसँगै जीवन बीमाकोषको आकार बढ्दै गएको देखिन्छ। तर दीर्घकालीन दाबी दायित्व व्यवस्थापन, लगानीको गुणस्तर र वित्तीय अनुशासन नै आगामी प्रतिस्पर्धामा निर्णायक कारक बन्ने विश्लेषण गरिएको छ।





























