घण्टी हल्लाएर प्रचार गर्न नपाइने, निर्वाचन आयोगको स्पष्ट निर्देशन

2.1K
shares

काठमाडौं । निर्वाचन आयोग, नेपाल ले निर्वाचन प्रचार–प्रसारका क्रममा चुनाव चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न निर्देशन दिएको छ। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले चुनावी प्रचारका क्रममा ‘घण्टी’ बजाउँदै हिँड्ने क्रम बढेपछि आयोगले यस्तो निर्णय गरेको हो।

आयोगद्वारा जारी विज्ञप्तिअनुसार राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएको चुनाव चिन्ह प्रयोग गर्न पाउनेछन्। तर काठ, धातु वा अन्य ठोस सामग्रीबाट बनाइएका चिन्ह बोकेर वा बजाएर प्रचार गर्न भने नपाइने स्पष्ट गरिएको छ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी ले रास्वपाले ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा उजुरी दिएको थियो। सामाजिक सञ्जालमा पनि धार्मिक स्थलमा प्रयोग हुने घण्टीको दुरुपयोग भएको भन्दै आलोचना भएपछि आयोगले आइतबार निर्णय सार्वजनिक गरेको हो।

यसैबीच राजधानी दैनिकका सम्पादक डिल्ली आचार्य ले सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै भनेका थिए—यदि कुनै दलका कार्यकर्ताले आफ्नो चुनाव चिन्ह हल्लाउँदै प्रचार गर्छन् भने त्यसलाई आचारसंहिता उल्लंघन मानिने कि नमानिने?

आयोगले जारी गरेको निर्देशनसँगै अब चुनाव प्रचारमा भौतिक स्वरूपका चिन्ह प्रयोग गरेर ध्वनि वा अन्य प्रभाव सिर्जना गर्ने गतिविधि रोकिने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals