लोकसेवा जागिरको लोभमा रचेको रक्तरञ्जित षड्यन्त्र
सब–इन्जिनियर प्रमोद यादवको हत्या प्रकरणमा मुख्य योजनाकारसहित ३ पक्राउ
वि.सं.२०८२ फागुन १५ शुक्रवार
shares
जनकपुरधाम । सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको योजनाबद्ध हत्या प्रकरणले लोकसेवा नियुक्तिलाई लिएर रचिएको भयावह आपराधिक षड्यन्त्र उजागर गरेको छ। प्रहरीले घटनाका मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गर्दै प्रारम्भिक अनुसन्धानमै हत्या पूर्ण रूपमा पूर्वनियोजित रहेको निष्कर्ष निकालेको छ।
सिरहाको सुखीपुर नगरपालिका–९ बैशाखा घर भई हाल सर्लाहीको मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका ३६ वर्षीय यादवमाथि २०८२ फागुन ३ गते साँझ करिब ७:५५ बजे गोली प्रहार गरिएको थियो। जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत यादवलाई फोन गरेर डेराबाट बाहिर बोलाइ नजिकबाट छातीमा गोली हानिएको थियो।
घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। पोस्टमार्टम रिपोर्टले छातीमा लागेको गोलीकै कारण मृत्यु भएको पुष्टि गरेको छ।
अनुसन्धानबाट महोत्तरी रामगोपालपुर नगरपालिका–५ घर भई सर्लाही बरहथवा–९ शान्तिटोल बस्दै आएका ३४ वर्षीय गणेश कुमार महतो नै हत्याका मुख्य योजनाकार रहेको खुलेको प्रहरीले जनाएको छ।
महतो प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशको सब–इन्जिनियर पदमा एक मात्र वैकल्पिक उम्मेदवार थिए। मुख्य सिफारिसमा परेका प्रमोद यादव नियुक्त भएको एक वर्षभित्र पद रिक्त भए आफूले स्थायी जागिर पाउने दुषित उद्देश्यका साथ हत्या योजना बनाएको अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार महतोले आफ्नै साला नाता पर्ने २२ वर्षीय चन्द्रकिशोर सिंह कुशवाहा र आफ्नै भाई २२ वर्षीय विजय कुमार महतोलाई प्रयोग गरी षड्यन्त्र रचेका थिए। विजय महतोले ८० हजार रुपैयाँमा हतियार खरिद गरी उपलब्ध गराएको प्रारम्भिक बयानमा खुलेको छ।
प्रहरी अनुसन्धानअनुसार गणेश महतोले आफूलाई ‘राकेश यादव’ भनेर चिनाउँदै मृतकसँग सम्पर्क बढाएका थिए। घटनाको दिन उनले व्हाट्सएप कलमार्फत यादवलाई डेराबाट बाहिर बोलाए। बाहिर निस्कनेबित्तिकै पेस्तोलबाट छातीमा गोली प्रहार गरियो।
हत्या गरेपछि अभियुक्तहरू मोटरसाइकलमा फरार भई रौतहटको गढीमाई नगरपालिका क्षेत्रमा मोटरसाइकल छाडेर लुकेका थिए। भारतीय नम्बर प्लेट बीआर ०१ एफ जेड १०८२ नम्बरको मोटरसाइकल रौतहटबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट १ थान पेस्तोल, १ थान गोलीको खोका, १ थान भारतीय नम्बर प्लेटको मोटरसाइकल तथा ३ थान मोबाइल फोन बरामद गरिएको छ।
बरामद पेस्तोल यसअघि मलंगवा–४ स्थित निर्माणाधीन हनुमान मन्दिर परिसरमा बालकले फेला पारी खेलाउने क्रममा पड्किँदा एक बालक घाइते भएको घटनासँग समेत जोडिएको प्रहरीले जनाएको छ। फरेन्सिक परीक्षणपछि यसबारे थप पुष्टि हुने बताइएको छ।
पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार कर्तव्य ज्यान तथा हातहतियार खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। ज्यान मार्ने नियतले गरिएको कसूरमा जन्मकैदसम्म सजाय हुने कानुनी व्यवस्था छ।
प्रहरीले घटनालाई स्पष्ट रूपमा पूर्वनियोजित आपराधिक षड्यन्त्र ठहर गर्दै थप अनुसन्धान जारी रहेको जनाएको छ।
लोकसेवा नियुक्ति जस्तो संवेदनशील प्रक्रियालाई आधार बनाएर रचिएको यो रक्तरञ्जित अपराधले राज्य संयन्त्र र समाज दुवैलाई झक्झक्याएको छ। व्यक्तिगत स्वार्थका लागि मानव जीवन समाप्त गर्ने मानसिकता कति खतरनाक हुन सक्छ भन्ने यो घटनाले फेरि एकपटक देखाएको छ।
































