नेपाल बन्द घोषणा गर्दै सडक तताउने प्रयास, प्रसाईं पक्राउ
वि.सं.२०८२ फागुन १७ आइतवार
shares
भक्तपुर। मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको छ। परिसरका प्रवक्ता डीएसपी प्रकाश जवेगुले प्रसाईंलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको जानकारी दिएका छन्।
प्रसाईंको नेतृत्वमा आज देशव्यापी नेपाल बन्द घोषणा गरिएको थियो। बन्दको पूर्वसन्ध्यामा उनले सार्वजनिक कार्यक्रममा पूर्वराजपरिवार नै सडकमा आउने भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए। तर, पूर्वराजपरिवारका तर्फबाट सडकमा आउने कुनै आधिकारिक कार्यक्रम नभएको स्पष्ट पारिएको छ।
प्रहरी स्रोतका अनुसार शान्ति–सुरक्षामा असर पर्ने गतिविधि र उत्तेजक अभिव्यक्तिका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। आवश्यक अनुसन्धान अघि बढाइएको र थप विवरण पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
नेपाल बन्दको घोषणापछि भक्तपुरसहित काठमाडौं उपत्यकाका संवेदनशील स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सार्वजनिक सवारीसाधन आंशिक रूपमा सञ्चालनमा रहे पनि बजार तथा शैक्षिक संस्था प्रभावित हुन सक्ने आकलन गरिएको छ।
प्रसाईंको पक्राउसँगै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस सुरु भएको छ। केही समूहले पक्राउको विरोध गरेका छन् भने अर्को पक्षले शान्ति–सुरक्षाका दृष्टिले कदम आवश्यक रहेको तर्क गरेको छ।
प्रहरीले सर्वसाधारणलाई अफवाहमा नलाग्न र आधिकारिक सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ।(थप विवरण आउन बाँकी)
































