मतदान केवल अधिकार होइन, देशको भविष्य तय गर्ने अवसर

2.6K
shares

 फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू प्रचारप्रसारमा तीव्र रूपमा सक्रिय भएका छन्। घरदैलो, सभा, भेटघाट र प्रचार सामाग्री मार्फत आफ्नो उम्मेदवारको समर्थन जुटाउन राजनीतिक दलहरू व्यस्त छन्। मतदाताहरू पनि छरछिमेक, साथीभाइ र आफन्तसँग छलफल गरी आफ्नो निर्णय गर्न थालेका छन्।

उम्मेदवारहरू आफ्नो चुनावी क्षेत्रमा समस्या पहिचान गर्दै समाधान दिने प्रलोभन देखाइरहेका छन्। दलहरूले आकर्षक घोषणा–पत्र जारी गर्दै मतदातालाई मिठा आश्वासन बाँडिरहेका छन्। यसरी चुनावी माहोल गर्मिँदै जाँदा मतदाताले आफ्नो अधिकार विवेकपूर्ण प्रयोग गर्नुपर्ने आवश्यकता अझ बढेको छ।

सरकारले निर्वाचनको सुरक्षा कडा बनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, गुप्तचर र म्यादी प्रहरी मतदान केन्द्रमा परिचालन छन्। निर्वाचन आयोगले पनि सम्पूर्ण प्रशासनिक र प्राविधिक तयारी पूरा गरिसकेको छ।

यद्यपि केही राजनीतिक दलहरूले सुरक्षा पूर्ण नभएको गुनासो गरेका छन्। सुरक्षा निकायहरूले भने शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहोर्‍याएका छन्। यसले आम मतदातामा भयरहित मतदानको आशा जगाएको छ।

मतदान केवल अधिकार मात्र नभई राष्ट्रको दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर हो। सर्वसाधारणले राष्ट्र, राष्ट्रियता र जनहितलाई प्राथमिकता दिने उम्मेदवारलाई चयन गर्नुपर्ने आवाज उठिरहेको छ। यदि देश र जनताको हितविपरीत काम गर्ने व्यक्ति निर्वाचित भएमा त्यसको असर दीर्घकालीन हुनसक्छ।

मतदाताले हल्ला र प्रचारको प्रभावमा नपरी, तथ्य, अनुभव र उम्मेदवारको विगतका कार्यसम्पादनको आधारमा निर्णय गर्नु अति आवश्यक छ। होसियार नहुँदा भोलिका दिनमा पछुताउनु बाहेक विकल्प हुँदैन।

निर्वाचन नजिकिँदै गर्दा विदेशी शक्तिहरूको चलखेलको आशंका बढेको छ। अघिल्ला वर्षहरूमा भएका राजनीतिक घटनाक्रम र आन्दोलनहरूले देशमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो। त्यसैले यस पटक मतदाताले सचेत र सजग रहनु आवश्यक छ।

नेपाली राजनीतिको लामो यात्रामा स्थापित दलहरूले केही उपलब्धि हासिल गरे पनि जनचाहना अनुसार पूर्ण काम गर्न नसकेको गुनासो उठ्दै आएको छ। नयाँ शक्ति भनेर आएका उम्मेदवारहरूले पनि अपेक्षित विश्वास दिलाउन सकेका छैनन्। यसकारण मतदाताले भावनात्मक निर्णयभन्दा तथ्य र विगतका अनुभवको आधारमा मतदान गर्नु जरुरी छ।

फागुन २१ को निर्वाचन केवल प्रतिनिधि चयन मात्र होइन, देशको भविष्य निर्धारण गर्ने अवसर पनि हो। राजनीतिक दल, पत्रकार, बुद्धिजीवी, उद्योगी–व्यापारी, कर्मचारी, शिक्षक, विद्यार्थी र सर्वसाधारण सबैले जिम्मेवारीपूर्वक मतदान गर्नु आवश्यक छ। विवेकपूर्ण, होसियार र राष्ट्रहित केन्द्रित मतदानले मात्र स्थिर र समृद्ध नेपालको आधार तयार पार्न सक्छ।

civil hospital
Hams Hospitals