आशिका तामाङको कडा चेतावनी:अवैध उत्खनन रोक्न कडा निर्देशन
वि.सं.२०८२ चैत ३ मंगलवार
shares
धादिङ । आशिका तामाङले धादिङको बेनीघाट रोराङ–९ क्षेत्रमा भइरहेको त्रिशूली नदीको अवैध बालुवा–गिट्टी उत्खनन तत्काल रोक्न कडा निर्देशन दिएकी छन्।
उक्त क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको जानकारी पाएपछि आफूले तुरुन्तै सम्बन्धित निकायलाई काम रोक्न आदेश दिएको उनले बताइन्।
सांसद तामाङले जनताले विश्वास गरेर संसद् पठाएको प्रतिनिधि भएकाले आफ्नो निर्देशनलाई बेवास्ता गर्ने वा हेलचक्र्याइँ गर्ने निकायलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएकी छन्।
“बेनीघाट रोराङ–९ मा अवैध रुपमा त्रिशूली नदीबाट बालुवा र गिट्टी उत्खनन भइरहेको जानकारी पाएपछि तुरुन्तै रोक्न आदेश दिएको छु। म जनताले विश्वास गरेर पठाएको माननीय हुँ। मेरो आदेश नमान्ने र हेलचक्र्याइँ गर्ने सम्बन्धित निकायलाई कारबाहीको दायरामा ल्याइनेछ,” उनले कडा शैलीमा भनिन्।
नदीजन्य पदार्थको अवैध उत्खननले वातावरणीय क्षति र बाढी–पहिरोको जोखिम बढाउने भन्दै उनले स्थानीय प्रशासनलाई पनि कडाइका साथ अनुगमन गर्न आग्रह गरेकी छन्।
स्थानीय बासिन्दाले पनि लामो समयदेखि त्रिशूली नदीबाट अनियमित रुपमा बालुवा–गिट्टी उत्खनन भइरहेको गुनासो गर्दै आएका छन्। सांसद तामाङको हस्तक्षेपपछि उक्त क्षेत्रमा अनुगमन र नियन्त्रण कडाइ हुने अपेक्षा गरिएको छ।





























