नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्ति : ‘राष्ट्रिय ज्वाई’देखि राजनीतिक दौडधूपसम्म
वि.सं.२०८२ चैत ४ बुधवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंक मा दुई डेपुटी गभर्नर नियुक्तिको प्रक्रिया अहिले निकै रोमाञ्चक मोडमा पुगेको छ।
हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक छन् । नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, बिश्रुत पौडेल, दयाराम शर्मा, गुरु प्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिम्सिना, चेत प्रसाद उप्रेती, रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. दिल्लीराम पोखरेल, दिर्घबहादुर रावल, निश्चल अधिकारी, दीपकराज लामिछाने, राजन विक्रम थापा र राजेन्द्र भट्टराई लगायतका नाम प्रमुख दाबेदारका रूपमा हेरिएका छन्। केहीले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट देखाउँदै नियुक्तिका लागि पहल थालेको दाबी गरिएको छ।
यीमध्ये सबैभन्दा बढी चर्चामा रहेका पात्र हुन् रामशरण खरेल। उनी पूर्व अर्थमन्त्री तथा अन्तर्राष्ट्रिय मुद्रा कोष मा कार्यरत रहिसकेका युवराज खतिवडा का ज्वाईं हुन्।
खरेल यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका बेला खतिवडाको प्रभावमा राष्ट्र बैंकमा प्रवेशदेखि बढुवासम्म सहज अवसर पाएको आरोप लाग्दै आएको छ। उनी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा गोल्ड मेडलिस्ट भए पनि लिखित परीक्षा नदिई अन्तर्वार्ताबाटै २०५४ सालमा अधिकृत तृतीयमा नियुक्त भएका थिए।
त्यसपछि करिब डेढ दशक विभिन्न अवसर र बढुवामा ‘ससुराको प्रभाव’ रहेको टिप्पणी केन्द्रीय बैंकभित्र सुनिँदै आएको छ। पछिल्ला दिनमा उनी आगामी डेपुटी गभर्नरमध्ये एक पदमा आफूले ‘वचन’ पाइसकेको भन्दै अनौपचारिक दाबी गरिरहेको स्रोतको भनाइ छ।
डेपुटी गभर्नरहरूको बिदाइ कार्यक्रममा गभर्नर विश्वनाथ पौडेल ले नयाँ नियुक्ति गर्दा रास्वपालाई जानकारी गराउने संकेत अर्थमन्त्रीबाट आएको उल्लेख गरेको दाबी स्रोतहरूले गरेका छन्। हालका अर्थमन्त्री रामेश्वर खनाल को खरेलप्रति विशेष झुकाव रहेको समेत बताइन्छ।
उता, नयाँ राजनीतिक समीकरणसँगै रवि लामिछाने नेतृत्वको रास्वपा सरकार गठन भए स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने चर्चा छ। वाग्ले अर्थमन्त्री बनेपछि गभर्नर पौडेलले राजीनामा दिन सक्ने सम्भावना समेत चर्चामा आएको छ।
दुई डेपुटी गभर्नर पद रिक्त भएसँगै राष्ट्र बैंकभित्र करिब डेढ दर्जन कार्यकारी निर्देशकहरूबीच शक्ति केन्द्र धाउने ‘लिगलिगे दौड’ सुरु भएको छ।
राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध र शक्ति सन्तुलनको समीकरणमा आधारित यो प्रतिस्पर्धामा ‘राष्ट्रिय ज्वाई’ भनेर चिनिएका खरेल अग्रपंक्तिमा देखिएका छन्।
यद्यपि, नियुक्ति प्रक्रियामा योग्यता, अनुभव र संस्थागत स्वायत्तताको प्रश्न उठिरहेको छ ।




























