स्वास्थ्य परिषद् नै ‘कमिसनको अड्डा’ ? रजिष्ट्रार भण्डारीसहित तीन जनाविरुद्ध ठुलो भ्रष्टाचार उजुरी
वि.सं.२०८२ चैत ६ शुक्रवार
shares
काठमाडौं — नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) भित्र गहिरिँदै गएको भ्रष्टाचार र अनियमितताको आरोपले स्वास्थ्य क्षेत्र नै तरंगित बनेको छ। रजिष्ट्रार लिलानाथ भण्डारी सहित सदस्यहरू मुकेश झा र बसन्त श्रेष्ठ विरुद्ध एकैसाथ विभिन्न निकायमा गम्भीर उजुरी दर्ता भएपछि प्रकरणले नयाँ मोड लिएको हो।
उक्त उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा दर्ता गरिएको छ।
उजुरीमा परिषद्भित्र सीमित व्यक्तिहरूको मिलेमतोमा ‘संस्थागत लुट’ चलिरहेको दाबी गरिएको छ। खरीद प्रक्रियादेखि लाइसेन्सिङसम्म ‘सेटिङ’ मार्फत लाखौँ रुपैयाँको अनियमितता भएको आरोप छ।
परिषद्को खरीद प्रक्रियामा खुला प्रतिस्पर्धा निषेध गर्दै ‘सेटिङ’ मार्फत ठेक्का दिइएको र विशेषगरी सफ्टवेयर खरिदमा ठूलो रकम हिनामिना गरिएको आरोप लगाइएको छ।नियमअनुसार तलब नपाउने सदस्यहरूले नक्कली कार्यविवरण बनाएर मासिक २ देखि ३ लाख रुपैयाँसम्म भत्ता लिएको दाबी गरिएको छ। यसरी राज्यकोषबाट निरन्तर रकम दोहन गरिएको उजुरीमा उल्लेख छ।
कर्मचारी भर्नामा नियम मिच्दै आफ्ना नातेदारलाई नियुक्त गर्ने, संवेदनशील काममा आफन्त खटाउने र आर्थिक लाभ लिने काम भइरहेको आरोप छ।लाइसेन्सिङ परीक्षा र नाम दर्तामा अनावश्यक झन्झट सिर्जना गरी ‘छिटो काम गरिदिने’ बहानामा पैसा असुल्ने गरिएको उजुरीमा भनिएको छ।त्यस्तै, अनुगमनका नाममा कलेजहरूलाई धम्क्याउँदै ‘सेटलमेन्ट’ गरी रकम उठाउने प्रवृत्ति रहेको आरोप पनि लगाइएको छ।
उजुरीकर्ताहरूले यो प्रकरणलाई गम्भीर भ्रष्टाचारको रूपमा चित्रण गर्दै तत्काल निष्पक्ष छानबिन गर्न र दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।नेपालमा पछिल्लो समय सार्वजनिक निकायहरूमा भ्रष्टाचारका आरोप बढ्दै गएको सन्दर्भमा यस्ता उजुरीहरू गम्भीर रूपमा लिनुपर्ने देखिएको छ। विभिन्न क्षेत्रमा भ्रष्टाचारका मुद्दा दर्ता र अनुसन्धान बढ्दै गएको तथ्यले पनि शासनप्रति जनविश्वासमा चुनौती थपिएको विश्लेषण गरिन्छ ।


























