पर्यटन मन्त्रालयमा उपसचिवलाई अनियमितताको आरोप
वि.सं.२०८२ चैत ९ सोमवार
shares
काठमाडौं ।पर्यटन मन्त्रालय अन्तर्गत पत्र तथा स्टोर शाखामा कार्यरत उपसचिव गोकर्ण उपाध्यायमाथि आर्थिक अनियमितता तथा दुरुपयोगको गम्भीर आरोप लागेको छ। साना खरिदमा ठूलो रकम देखाई बिल बनाउने, टेन्डर प्रक्रियामा सेटिङ गरी कम सामान ल्याएर बढी मूल्य देखाउनेजस्ता गतिविधि भएको आरोप छ।
करिब पाँच हजार रुपैयाँ पर्ने गलैचाको ५५ हजार रुपैयाँसम्मको बिल बनाइएको दाबी गरिएको छ। यस्तै, मन्त्रालयले उपसचिवलाई दिएको पाँच लाख रुपैयाँसम्मको आर्थिक अधिकारको दुरुपयोग गर्दै विभिन्न शीर्षकमा रकम अपारदर्शी ढंगले खर्च गरिएको आरोप छ।
त्यसैगरी, कार्यालयमा नियमित उपस्थित नहुने, बाहिरी भेटघाट तथा होटल–क्यासिनोमा समय बिताउने, आफूअनुकूल कर्मचारी व्यवस्थापन गर्न सरुवा प्रभावित पार्ने जस्ता व्यवहारसमेत देखिएको आरोप कर्मचारीहरूले लगाएका छन्।
उपाध्यायले विगतमा विभिन्न राजनीतिक पहुँच प्रयोग गर्दै गृहमन्त्रालय तथा मन्त्रीको सचिवालयसम्म पहुँच बनाएको दाबी पनि गरिएको छ। यसले प्रशासनिक निष्पक्षतामाथि प्रश्न उठाएको कर्मचारीहरूको भनाइ छ।
त्यस्तै, गाडी मर्मत, कार्यालय मर्मतसम्भार लगायतका शीर्षकमा वास्तविक काम नगरी ठूलो रकमको बिल पारित गरिएको आरोप समेत छ। कार्यालयमा भौतिक अवस्था कमजोर रहे पनि लाखौं रुपैयाँ खर्च देखाइएको स्रोतको दाबी छ।यता, नयाँ सरकार गठनअघि नै बजेट खर्च सक्ने उद्देश्यले हतारमा भुक्तानी प्रक्रिया अघि बढाइएको समेत जानकारी प्राप्त भएको छ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा उपसचिव उपाध्याय सम्पर्कमा आउन चाहेनन्।



























