बालेन सरकारको पूर्ण टिम सार्वजनिक:अर्थदेखि गृहसम्म टुंगियो मन्त्रिपरिषद्
सिंहदरबार न्यूज
वि.सं.२०८२ चैत १२ बिहीवार
2.7K shares
काठमाडौं । प्रतिनिधि सभाको २१ फागुनमा सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल बहुमत हासिल गरेसँगै देशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको छ। बहुमतको स्पष्ट जनादेश पाएपछि सरकार गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
रास्वपाका सभापति बालेन्द्र शाह चैत १३ गते प्रधानमन्त्री नियुक्त हुँदै पूर्ण मन्त्रिपरिषद्सहित शपथ लिने तयारीमा छन्। स्रोतका अनुसार पहिलो चरणमा चार मन्त्री चयन गरिसकेको रास्वपाले विस्तारित मन्त्रिपरिषद्को अन्तिम सूचीसमेत तयार पारिसकेको छ।
प्रारम्भिक सूचीअनुसार उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री, डिपी अर्याल गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री र मनिष झा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने लगभग निश्चित भएको छ।
यसैगरी प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयसमेत आफैं सम्हाल्ने तयारी गरेका छन्। अन्य मन्त्रालयमा सुनिल लम्साल भौतिक पूर्वाधार तथा योजना मन्त्री, दीपक बोहरा उद्योग वाणिज्य मन्त्री, सस्मित पोखरेल शिक्षा मन्त्री, बिपिन आचार्य सामान्य प्रशासन मन्त्री, सुधन गुरुङ युवा तथा खेलकुद मन्त्री र सोबिता गौतम कानुन मन्त्री बन्ने तय भएको स्रोतले जनाएको छ।
यस्तै, सिन्धुली–२ बाट निर्वाचित आशिष गजुरेल लाई समेत मन्त्री बनाउने तयारी रहेको बताइएको छ, यद्यपि उनको मन्त्रालय अझै टुंगिएको छैन।
संघीय संसद्को नेतृत्व संरचनामा सन्तुलन कायम गर्न रास्वपाले रणनीतिक कदम चाल्दै सभामुख पद आफ्नै दलले लिने र उपसभामुख पद नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दिने आन्तरिक सहमति बनाएको छ। यसले संवैधानिक परिषद् लगायतका निकायमा सहकार्य सहज हुने अपेक्षा गरिएको छ।
बहुमतसहित सत्तामा आएको रास्वपामाथि जनताको अपेक्षा निकै उच्च छ। भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक स्थायित्व र रोजगारी सिर्जना सरकारका प्रमुख प्राथमिकतामा पर्ने जनाइएको छ।
प्रधानमन्त्री बन्न लागेका शाहले ‘नयाँ राजनीतिक संस्कार’ स्थापना गर्ने प्रतिबद्धता दोहोर्याउँदै आएका छन्। सोही अनुरूप मन्त्रिपरिषद् चयनमा कार्यक्षमता, पारदर्शिता र जवाफदेहितालाई मुख्य आधार बनाइएको दाबी गरिएको छ।
भोलि हुने शपथसँगै नयाँ सरकार औपचारिक रूपमा गठन हुनेछ। त्यसपछि नीति तथा कार्यक्रम, बजेट निर्माण र कार्यान्वयनमा सरकार पूर्ण रूपमा केन्द्रित हुने अपेक्षा गरिएको छ।