नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टको गाडी कलंकीमा दुर्घटनाग्रस्त, तीव्र गतिमा डिभाइडरमा ठोक्कियो
वि.सं.२०८२ चैत १४ शनिवार
shares
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट शनिबार दिउँसो राजधानीको व्यस्त कलंकी चोकमा सवारी दुर्घटनामा परेका छन्।
बा ७६५४ नम्बरको सरकारी गाडी आफैं चलाएर थानकोट डिपोतर्फ जाँदै गरेका भट्टको गाडी करिब दिउँसो २ बजे कंक्रिट डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनाबाट गाडीमा सामान्य क्षति पुगे पनि घटनाले सरकारी जिम्मेवार पदमा रहेका व्यक्तिको सवारी सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।
शनिबार सार्वजनिक बिदा परेकाले चालक बिना आफैं गाडी चलाएर निस्किएका भट्टको सवारी तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका छन्। स्थानीयवासीले दुर्घटनापछि चालकसहित गाडी नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।
कलंकी ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजिव बस्नेतका अनुसार घटनापछि ट्राफिक प्रहरी तत्काल घटनास्थलमा पुगेर भट्टलाई नियन्त्रणमा लिएको थियो। स्थानीय स्तरमा मादक पदार्थ सेवन गरेर गाडी चलाएको आशंका गरिए पनि ट्राफिक प्रहरीले गरेको परीक्षणमा मदिरा सेवन नगरेको पुष्टि भएको जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा अन्य कुनै सवारी वा सर्वसाधारणलाई क्षति नपुगेकाले ठूलो मानवीय दुर्घटना टरेको छ। यद्यपि राजधानीको अत्यन्त व्यस्त सडक क्षेत्रमा सरकारी उच्च अधिकारीको गाडी यसरी दुर्घटनामा पर्नु लापरवाही, गति नियन्त्रण र सवारी अनुशासनमाथि गम्भीर बहसको विषय बनेको छ





























