राजनीतिक कम्पन: जेन-जी रिपोर्टपछि उच्च तहमा पक्राउ र छानबिन तीव्र

2.1K
shares

काठमाडौं । जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै देशको राजनीतिक वृत्तमा हलचल मच्चिएको छ । प्रतिवेदनले औंल्याएका गम्भीर आरोपहरूका आधारमा प्रहरीले अब सिधै उच्च तहका नेतामाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाएको छ।

प्रहरी स्रोतका अनुसार आन्दोलनका क्रममा आगजनी भएका घरहरूबाट नगद रकम फेला परेपछि सुरु भएको प्रारम्भिक अनुसन्धान अब निर्णायक चरणमा पुगेको छ। सोही क्रममा आइतबार बिहान नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अनुसन्धानको दायरा अझै फराकिलो बनाउँदै प्रहरीले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनका परिवारका सदस्य र सचिवालयसँग जोडिएका व्यक्तिहरूमाथि पनि निगरानी कडा बनाएको छ।

त्यस्तै, आन्दोलनकै क्रममा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको घरमा आगलागीपछि नगद रकम फेला परेको घटनाले थप शंका जन्माएको छ। ललितपुरको सुनाकोठीस्थित घरमा भेटिएको उक्त रकमको मुचुल्का उठाइसकिएको र त्यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयका केही सदस्यहरू पनि अब अनुसन्धानको घेरामा पर्ने संकेत देखिएको छ।

जेन-जी आन्दोलनले सडक मात्र तताएन, अब सत्ताको शीर्ष तहसम्मै कानुनी आँधी ल्याएको छ। राज्य संयन्त्र सक्रिय भएसँगै अब प्रश्न उठेको छ—के यो अनुसन्धान अन्तिम निष्कर्षसम्म पुग्ला, कि फेरि राजनीतिक दबाबमै सीमित हुनेछ?

civil hospital
Hams Hospitals