यातायात कार्यालयमा बिचौलियाको बिगबिगी : काठमाडौंबाट १६ जना पक्राउ
वि.सं.२०८२ चैत १७ मंगलवार
shares
काठमाडौं । काठमाडौंका विभिन्न यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने र बिलबुक नवीकरण गरिदिने भन्दै अवैध रकम असुल्ने बिचौलियाविरुद्ध प्रहरीले कडा कारबाही थालेको छ ।
प्रहरीले स्वयम्भूस्थित सानोभर्याङ र गुर्जुधारास्थित यातायात कार्यालय परिसरबाट १६ जना बिचौलियालाई पक्राउ गरेको हो । उनीहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने बहानामा सेवा प्रवाहमा अवरोध पुर्याउने, लाइन मिच्ने, छिटो काम गराइदिने भन्दै रकम असुल्ने तथा कार्यालयभित्र अनधिकृत पहुँच प्रयोग गर्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूबाट नगद १ लाख २२ हजार रुपैयाँ र ५३ थान बिलबुक बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी वृत्त स्वयम्भूले सानोभर्याङस्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका बलबहादुर सुनार, रामेछापका विज्ञान राई, काठमाडौंका संजय राजवाहक, विमल तामाङ, रमेश कार्की, कैलालीका सुमनप्रसाद श्रेष्ठ, नुवाकोटका उद्धव खनाल र धादिङकी कल्पना लम्साल रहेका छन् ।
यस्तै, प्रहरी वृत्त थानकोटले गुर्जुधारास्थित यातायात कार्यालयबाट थप ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पासाङ तामाङ, शुनिल लामा, सुदिप मगर, बुद्ध तामाङ, सुमेश नेपाली, अमन तामाङ, उज्वल सिंह र दिलिप राई रहेका छन् ।
यातायात कार्यालयहरूमा वर्षौंदेखि मौलाउँदै आएको बिचौलिया संस्कृति नियन्त्रण गर्न नसक्दा सेवाग्राहीहरू मारमा पर्दै आएका छन् । सामान्य कामका लागि घण्टौँ लाइन बस्नुपर्ने, अनावश्यक कागजात मागिने र कर्मचारीसम्म पुग्न बिचौलियाको सहारा लिनुपर्ने बाध्यता कायमै रहँदा सरकारी सेवा प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ ।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।




























