सिंहदरबार जलाउनेलाई पनि कारबाही गरियोस्: हर्क साम्पाङ
वि.सं.२०८२ चैत १८ बुधवार
shares
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गएको भदौ २४ गते भएको हिंसात्मक घटनाको योजनाकार र संलग्न सबै व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन् ।
उनले डिस्कर्डमार्फत आन्दोलनको योजना बनाउने, बालबालिकालाई स्कुल ड्रेसमै आन्दोलनमा उतार्ने, शान्तिपूर्ण प्रदर्शनलाई भड्काएर हिंस्रक बनाउने र सिंहदरबार, संसद् भवन तथा सर्वोच्च अदालत जलाउने योजनामा संलग्न व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले आन्दोलनको नाममा हिंसा मच्चाउने, सरकारी संरचनामाथि आक्रमण गर्ने र बालबालिकालाई प्रयोग गर्ने प्रवृत्ति कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।
उनले लेखेका छन्, ‘डिस्कर्डमा योजना बनाएर बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने, हिंस्रक बनाउने र २४ गते सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत योजनाबद्ध रूपमा जलाउनेलाई पनि कारबाही हुनुपर्छ ।’
साम्पाङले घटनामा वर्तमान सरकारका केही मन्त्रीसमेत संलग्न रहेको संकेत गर्दै उनीहरूमाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।
उनको भनाइले भदौ २४ को घटनामा योजनाबद्ध रूपमा हिंसा भड्काइएको र त्यसमा राजनीतिक तहबाट समेत संलग्नता हुन सक्ने बहसलाई थप बल दिएको छ ।





























