श्रमिकको पसिना लुट्ने ३५२ म्यानपावर व्यवसायी कालोसूचीमा

1.9K
shares

काठमाडौं । वैदेशिक रोजगार विभाग ले श्रमिक ठगीमा संलग्न ३५२ जना म्यानपावर व्यवसायी तथा सम्बन्धित कर्मचारीहरूको नाम, ठेगाना र ठगी रकम सार्वजनिक गरेको छ।

विदेश पठाइदिने प्रलोभनमा हजारौं रुपैयाँ असुलेर श्रमिकलाई अलपत्र पार्ने, झुटा आश्वासन दिने, नक्कली सम्झौता गराउने र विभिन्न शीर्षकमा रकम उठाएर ठगी गर्ने म्यानपावर व्यवसायीहरूविरुद्ध उजुरी परेपछि विभागले प्रारम्भिक अनुसन्धान सम्पन्न गरेर सूची सार्वजनिक गरेको हो।

विभागका अनुसार सार्वजनिक गरिएका व्यक्तिहरूमध्ये धेरैजसोले विदेशमा राम्रो तलब, आकर्षक सुविधा र छिटो भिसाको प्रलोभन देखाएर श्रमिकबाट लाखौं रुपैयाँ उठाएका थिए। कतिपयले पैसा लिएपछि सम्पर्कविहीन हुने, केहीले फरक देश वा फरक काममा पठाउने र केहीले विदेश पठाउने नाममा वर्षौंसम्म रकम अड्काएर राख्ने गरेको खुलेको छ।

वैदेशिक रोजगार विभाग ले उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान सम्पन्न भएका व्यक्तिहरूको विवरण सार्वजनिक गर्दै थप कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। विभागले श्रमिकलाई आकर्षक अफर, चर्को तलब र तुरुन्त भिसाको नाममा रकम माग्ने म्यानपावर कम्पनी तथा एजेन्टबाट सतर्क रहन पनि आग्रह गरेको छ।
श्रमिकको गरिबी, बेरोजगारी र विदेश जाने बाध्यतालाई व्यापार बनाउने यस्ता म्यानपावर व्यवसायीहरूका कारण वैदेशिक रोजगारी क्षेत्रप्रति नै अविश्वास बढिरहेको छ।

 

विभागको पछिल्लो कदमले वर्षौंदेखि श्रमिक ठगी गरेर उम्किने प्रवृत्तिमाथि केही हदसम्म दबाब सिर्जना गरेको छ।

civil hospital
Hams Hospitals