त्रिविले शनिबार–आइतबार सार्वजनिक बिदा दियो, कार्यालय समय र कक्षा तालिकामा पनि हेरफेर

13.1K
shares
Nabil bank

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हरेक शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विश्वविद्यालय कार्यकारी परिषद्को २०८२ मंसिर २३ गतेको बैठकले ऊर्जा बचत, खर्च कटौती र प्रशासनिक व्यवस्थापनलाई कारण देखाउँदै यस्तो निर्णय गरेको हो।

त्रिविले मातहतका कार्यालय, क्याम्पस, विभाग तथा अन्य निकायहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको छ। साथै अध्ययन, अध्यापन, अनुसन्धान र प्रशासनिक काममा संलग्न जनशक्तिको कार्यालय समयसमेत फेरबदल गरिएको छ।

त्रिविको निर्णय अनुसार अब सेमेस्टर तथा वार्षिक प्रणालीका कक्षा सञ्चालन गर्दा निर्धारित क्रेडिट आवर र वार्षिक कक्षाभारमा असर नपर्ने गरी सम्बन्धित क्याम्पस तथा विभागले समय तालिका मिलाउनुपर्नेछ।

कर्मचारीहरूको हकमा पनि नयाँ कार्यसमय लागू गरिएको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म दैनिक ७ घण्टा र माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म दैनिक ८ घण्टा कार्यालय समय कायम गरिएको छ। आवश्यकता अनुसार बिहान, दिउँसो वा सन्ध्याकालीन समयमा कार्यालय सञ्चालन गर्न सकिने अधिकार सम्बन्धित क्याम्पस र विभागलाई दिइएको छ।

त्रिवि अन्तर्गतका अस्पतालहरूमा कार्यरत कर्मचारीका लागि पनि छुट्टै समय व्यवस्था गरिएको छ। अस्पतालहरूले आवश्यकताअनुसार बिहान, दिउँसो वा रातिको सिफ्टमा कर्मचारी परिचालन गर्न सक्नेछन्।

अस्पताल, क्याम्पस र विभाग बाहेकका अन्य कार्यालय तथा निकायहरूको कार्यालय समय भने बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिएको छ। तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र कार्यालय सञ्चालन हुनेछ।

त्रिविको यो निर्णयलाई ऊर्जा संकट, सरकारी खर्च कटौती र घट्दो आर्थिक स्रोतसँग जोडेर हेरिएको छ। दुई दिन बिदा दिने निर्णयले विद्यार्थी, शिक्षक र कर्मचारीको दैनिकीमा प्रत्यक्ष असर पार्ने देखिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x