शेरबहादुर देउबा र आर्जु राणालाई पक्राउ पुर्जा जारी
वि.सं.२०८२ चैत २५ बुधवार
shares
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री Arzu Rana Deuba विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिएको छ ।
उच्च स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन, विभिन्न आर्थिक कारोबार तथा सम्पत्तिको स्रोतबारे अनुसन्धान अघि बढाउँदै अदालतबाट पक्राउ अनुमति लिएको हो। अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल विदेशमा रहेकाले तत्काल पक्राउ प्रक्रिया अघि बढ्न सकेको छैन।
स्रोतका अनुसार पछिल्लो समय देउवा परिवारसँग सम्बन्धित सम्पत्ति, जग्गा खरिद, बैंक कारोबार तथा विभिन्न आर्थिक गतिविधिको विवरण संकलन भइरहेको थियो। अनुसन्धान निकायले थप प्रमाण संकलन, सोधपुछ तथा सम्पत्तिको स्रोत पुष्टि गर्न आवश्यक देखेपछि अदालतबाट पक्राउ पुर्जी लिएको जनाएको छ।
यसअघि पनि देउवा परिवारमाथि अस्वाभाविक सम्पत्ति आर्जन, बूढानीलकण्ठस्थित निवास, विभिन्न नातेदारका नाममा खरिद गरिएको जग्गा तथा आर्थिक कारोबारबारे उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानसँग सम्बन्धित प्रमाण नष्ट हुनसक्ने आशंकामा बूढानीलकण्ठस्थित क्षतिग्रस्त घर भत्काउने कामसमेत रोकिएको बताइएको छ।
गृह मन्त्रालयनिकट स्रोतका अनुसार आवश्यकता परे विदेशमा रहेका देउवा दम्पतीलाई फर्काउन Interpol मार्फत नोटिस जारी गर्ने विकल्पसमेत खुला राखिएको छ। यद्यपि, औपचारिक रूपमा पक्राउ गर्न वा फर्काउन सम्बन्धित निकायबाट अहिलेसम्म निर्देशन जारी भएको छैन।




























