एप्क्यानबाट बाहिरिए निवर्तमान अध्यक्ष प्रज्वल बस्नेत, ५० जनासम्म साथ छाड्ने संकेत
वि.सं.२०८३ वैशाख ३ बिहीवार
shares
काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको नयाँ र वैकल्पिक छविका रूपमा स्थापित गरिएको शैक्षिक परामर्श व्यवसायी सङ्घ नेपाल (एप्क्यान) भित्र चर्किएको आन्तरिक विवाद अहिले सतहमा आएको छ। संस्थाका सञ्चालक तथा निवर्तमान अध्यक्ष प्रज्वल बस्नेतले संस्थाबाट आफू पूर्ण रूपमा अलग हुने घोषणा गर्दै नेतृत्व तहमा गुटबन्दी, व्यक्तिगत स्वार्थ, पदको लोभ, राजनीतिक प्रभाव र सीमित व्यक्तिको नियन्त्रण हावी भएको आरोप लगाएका छन्।
बस्नेतले आफू अब संस्थाको साधारण सदस्यसमेत नरहेको स्पष्ट पारेका छन्। उनले संस्थालाई सदस्यहरूको साझा घर बनाउन खोजिएको भए पनि पछिल्लो समय केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थको अखडा बनाइएको आरोप लगाएका छन्।उनका अनुसार पुरानो शैक्षिक परामर्श व्यवसायीहरूको संस्थामा राजनीतिक प्रभाव, सीमित समूहको वर्चस्व र व्यक्तिगत स्वार्थ बढ्दै गएपछि त्यसको विकल्पका रूपमा एप्क्यानको स्थापना गरिएको थियो। नयाँ संस्था स्थापना गर्दा स्वतन्त्र, राजनीतिक प्रभावमुक्त, सदस्यमैत्री र पारदर्शी संस्था बनाउने मुख्य उद्देश्य राखिएको थियो।
बस्नेतका अनुसार सुरुवाती चरणमा त्यो उद्देश्यअनुसार संस्था अघि बढेको पनि थियो। साढे दुई वर्षसम्म उनले घर, परिवार, साथीभाइ र आफन्तभन्दा बढी समय संस्थामा लगानी गरेको दाबी गरेका छन्। संस्थालाई देशभर चिनाउने, सदस्य विस्तार गर्ने, शाखा स्थापना गर्ने, मन्त्रालय र विभिन्न शैक्षिक संस्थासम्म पहुँच पुर्याउने तथा आर्थिक रूपमा सबल बनाउने काममा आफू निरन्तर खटिएको उनको भनाइ छ।
“संस्था आफैं गलत होइन, संस्था भित्रका केही व्यक्ति र उनीहरूको व्यवहार गलत भयो,” बस्नेतले भनेका छन्, “सीमित साथीहरूको स्वार्थका लागि संस्था चलाउन थालिएपछि हामीले त्यहाँबाट सम्बन्ध तोड्नुपरेको हो।”बस्नेतका अनुसार छोटो समयमै एप्क्यानलाई पुराना संस्थासरह स्थापित गर्न सफल भएको थियो। सदस्य सङ्ख्या झन्डै २०० पुर्याइएको थियो भने पूर्व क्षेत्रमा दुई वटा शाखासमेत स्थापना गरिएको थियो। विभिन्न कलेज, विश्वविद्यालय, सेमिनार र शैक्षिक कार्यक्रमहरूमा एप्क्यानलाई चिनाउने काम भएको थियो।
उनले मन्त्रालयदेखि विभिन्न शैक्षिक संस्थासम्म एप्क्यानको उपस्थितिलाई बलियो बनाउने प्रयास गरेको बताएका छन्। सदस्यहरूलाई कलेज, विश्वविद्यालय तथा विभिन्न शैक्षिक निकायहरूसँग जोडेर संस्थालाई उच्च गतिमा अघि बढाइएको उनको दाबी छ।बस्नेतले संस्थाको आर्थिक पक्षलाई पनि बलियो बनाएको दाबी गरेका छन्। उनका अनुसार संस्थामा करिब २४ लाख रुपैयाँ बराबरको कोष स्थापना गरिएको थियो। आर्थिक पारदर्शितामा आफूहरूले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उनले उल्लेख गरेका छन्।
जापान अध्ययनका लागि जाने विद्यार्थीहरूलाई एनओसी लिनुपर्ने झन्झट, नयाँ कलेज सूचीकरणको समस्या तथा मन्त्रालयमा हुने ढिलासुस्ती कम गर्न पनि आफूले सक्रिय भूमिका खेलेको बस्नेतले बताएका छन्।उनका अनुसार सय हाराहारीमा रहेका जापानी कलेजहरूको सूचीकरण समस्या मन्त्रालयसँग समन्वय गरेर समाधान गरिएको थियो। दूरदराजमा रहेका विद्यार्थीहरूलाई काठमाडौं आएर धाउन नपर्ने गरी एनओसी प्रक्रियामा सहजता ल्याइएको थियो।
बस्नेतका अनुसार संस्था सुरु गर्दा सबैभन्दा ठूलो प्रतिबद्धता भनेकै यसलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने थियो। उनले आफ्नो अध्यक्षीय कार्यकालसम्म संस्था तुलनात्मक रूपमा राजनीतिक हस्तक्षेपमुक्त रहेको दाबी गरेका छन्। तर आफू अध्यक्षबाट बाहिरिएपछि संस्थाभित्र गुट र उपगुटको राजनीति तीव्र रूपमा मौलाएको उनले आरोप लगाएका छन्।“मेरो कार्यकाल सकिएपछि संस्था पूर्ण रूपमा ‘यसका मान्छे’ र ‘उसका मान्छे’ मा विभाजित भयो,” उनले भने, “कार्यसमितिमा सीमित व्यक्तिहरूको नियन्त्रण बढ्दै गयो, विधान संशोधन पनि केही व्यक्तिको स्वार्थअनुसार गरियो।”
उनका अनुसार साधारण सभामार्फत विधानमा गरिएका संशोधनहरू संस्था र सदस्यहरूको हितभन्दा पनि सीमित व्यक्तिहरूको पद सुरक्षित गर्ने उद्देश्यले गरिएको थियो। कार्यसमितिको संरचना, पद वितरण र निर्णय प्रक्रियामा पनि केही सीमित व्यक्तिको वर्चस्व स्थापित गरिएको उनको आरोप छ।बस्नेतले कार्यसमितिका केही सदस्यहरूलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहर गरेका छन्। उनका अनुसार संस्थाका जिम्मेवार पदाधिकारीहरूले गलत निर्णय रोक्नुको सट्टा आँखामा पट्टी बाँधेर साथ दिएका छन्।
“संस्थामा कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूले गलतलाई गलत भन्न सकेनन्। उनीहरूले सीमित व्यक्तिको स्वार्थ पूरा गर्न मात्र भूमिका खेले,” बस्नेतले आरोप लगाए।उनले संस्थाभित्र रहेका विभिन्न विभागहरूमा समेत ‘तेरो र मेरो’ को राजनीति भएको बताएका छन्। विभागीय जिम्मेवारी, अवसर र निर्णय प्रक्रियामा निष्पक्षता हराउँदै गएको उनको भनाइ छ।“विभिन्न विभागमा पनि केही व्यक्ति हावी भए। आफ्नो समूहका मानिसलाई मात्रै अवसर दिने, अरूलाई पाखा लगाउने प्रवृत्ति बढ्यो। त्यसले मन दुखायो,” बस्नेतले भने।
बस्नेतले संस्था भित्र चरित्र हत्या गर्ने, विरोधीलाई कमजोर बनाउने, पदका लागि चलखेल गर्ने र संस्थालाई राजनीतिक दलको भ्रातृ संगठन जस्तै बनाउन खोजिएको आरोपसमेत लगाएका छन्।उनका अनुसार संस्थालाई सदस्यहरूको साझा प्लेटफर्म बनाउने उद्देश्य थियो, तर अहिले त्यो सीमित नेतृत्व समूहको निजी सम्पत्ति जस्तो बनेको छ। सदस्यहरूको हितभन्दा पनि नेतृत्वको व्यक्तिगत लाभ, आफ्नो मान्छेलाई अवसर र आफ्नो गुटलाई बलियो बनाउने खेल सुरु भएको उनले आरोप लगाए।
“संस्था सदस्यहरूको लागि होइन, केही नेतृत्व वर्गका लागि सीमित भयो,” बस्नेतले भने, “पहिले भएका निर्णयहरू पनि व्यक्तिगत फाइदाका लागि उल्ट्याइयो। आफ्नो अनुकूल हुने गरी नियम परिवर्तन गरियो।”उनले आफूले संस्थाका लागि गरेको योगदानको बदलामा अन्ततः अपमान र अविश्वास पाएको महसुस गरेको बताएका छन्। पुस्ताका लागि त्याग, तपस्या र समय दिएको भए पनि अन्ततः संस्थाभित्रकै व्यक्तिहरूबाट छुरा प्रहार भएको उनको टिप्पणी छ।
“हामीले संस्था बनाउन आफ्नो जीवनको महत्वपूर्ण समय खर्चियौं। तर अन्त्यमा संस्थाभित्रकै केही मानिसले छुरा प्रहार गरे,” बस्नेतले आक्रोश व्यक्त गरे।यही कारण आफूले अब संस्थाबाट पूर्ण रूपमा बिदा लिने निर्णय गरेको उनले बताएका छन्। उनले आफू अब संस्थाको साधारण सदस्य पनि नरहेको र कथित संस्थापक अध्यक्षको भूमिकामा समेत नरहेको जानकारी दिएका छन्।
बस्नेतको यो घोषणासँगै एप्क्यानभित्र ठूलो विभाजन आउने संकेत देखिएको छ। बस्नेत निकट स्रोतहरूका अनुसार उनीसँगै ४० देखि ५० जना सदस्यसमेत संस्थाबाट बाहिरिने तयारीमा छन्। नयाँ र पुराना गरी करिब पाँच दर्जन सदस्यहरू बस्नेतसँगै अघि बढ्ने सम्भावना रहेको बताइएको छ।बस्नेत स्वयंले पनि आफ्नो पक्षमा रहेका धेरै सदस्यहरूले साथ छाड्ने संकेत दिएका छन्। उनले धेरै साथीभाइ, पूर्व पदाधिकारी तथा सदस्यहरूसँग छलफल भइरहेको बताएका छन्।
उनका अनुसार अबको विकल्पबारे विभिन्न कोणबाट छलफल भइरहेको छ। नयाँ संस्था खोल्ने सम्भावना भने तत्काल नरहेको उनले बताएका छन्।“नयाँ संस्था खोल्ने परिकल्पना अहिले छैन,” बस्नेतले भने, “तर पुराना शैक्षिक परामर्श सङ्घका साथीहरूसँग निरन्तर छलफल भइरहेको छ। केही समयपछि कुन संस्थामा आबद्ध हुने भन्नेबारे स्पष्ट जानकारी दिन्छु।”बस्नेतले आफू पुरानै संस्थामा फर्किने कि कुनै अर्को स्थापित संस्थामा आबद्ध हुने भन्ने विषयमा छिट्टै निर्णय सार्वजनिक गर्ने बताएका छन्।
उनको बहिर्गमनले एप्क्यानभित्रको संकट थप गहिरिने संकेत देखिएको छ। संस्थाको स्थापना, विस्तार, आर्थिक व्यवस्थापन, शाखा विस्तार, सदस्य वृद्धि, मन्त्रालयसँग समन्वय, एनओसी सहजीकरण तथा जापान अध्ययनका लागि जाने विद्यार्थीहरूको समस्या समाधानमा सक्रिय भूमिका खेलेका व्यक्ति नै संस्थाबाट बाहिरिँदा त्यसले नेतृत्वको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
एप्क्यानभित्र अहिले देखिएको विवाद केवल व्यक्तिहरूको टकराव मात्र नभई संस्थाको भावी दिशा, नेतृत्वको चरित्र र सदस्यहरूको विश्वाससँग जोडिएको विषय बनेको छ।यदि बस्नेतसँगै ठूलो सङ्ख्यामा सदस्यहरू बाहिरिए भने एप्क्यानको वर्तमान नेतृत्व थप दबाबमा पर्ने निश्चित देखिन्छ। अर्कोतर्फ, बस्नेतले नयाँ मोर्चा बनाए वा कुनै पुरानो संस्थामा आबद्ध भए भने शैक्षिक परामर्श क्षेत्रको शक्ति सन्तुलनमा पनि प्रभाव पर्न सक्ने देखिएको छ।
हालका लागि बस्नेतले संस्थाबाट बिदा लिएको घोषणा गरे पनि उनको अर्को राजनीतिक तथा व्यावसायिक कदम के हुन्छ भन्नेबारे शैक्षिक परामर्श क्षेत्रमा चासो बढेको छ।




























