निजामती कर्मचारी अस्पतालमा ठूला सुधार: ज्यालादारी–सेसन कर्मचारीलाई सामाजिक सुरक्षा, समान सुविधा लागू

3K
shares

काठमाडौं । काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले ज्यालादारी, करार तथा सेसनमा कार्यरत कर्मचारीहरूको सेवा–सुविधा र सामाजिक सुरक्षामा महत्वपूर्ण सुधार लागू गरेको छ। फागुन महिनादेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब सबै अस्थायी प्रकृतिका कर्मचारीहरू सामाजिक सुरक्षा कोष अन्तर्गत पूर्ण रूपमा आबद्ध हुने भएका छन्।

अस्पताल प्रशासनका अनुसार मासिक पारिश्रमिकको आधारमा सामाजिक सुरक्षा योगदान प्रणाली लागू गरिएको हो। यसअन्तर्गत पारिश्रमिकको ६० प्रतिशतलाई आधारभूत तलब मानी, त्यसको ११ प्रतिशत कर्मचारीको तर्फबाट कट्टा गरिनेछ भने अस्पतालको तर्फबाट करिब २० प्रतिशत योगदान गरी सामाजिक सुरक्षा कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ।

यस निर्णयसँगै “काम उस्तै, सुविधा फरक” भन्ने दीर्घकालीन असमानता हटाउने प्रयास भएको अस्पताल प्रशासनको दाबी छ। लामो समयदेखि अस्थायी रूपमा कार्यरत कर्मचारीहरूलाई अब क्रमशः करार सेवामा रूपान्तरण गर्ने प्रक्रिया समेत अघि बढाइएको छ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले अब पदअनुसार मासिक आधारभूत तलब, महँगी भत्ता तथा वर्षमा एक पटक आधारभूत तलब बराबरको चाडपर्व खर्च पाउनेछन्। साथै, ६ महिना सेवा पूरा गरेका कर्मचारीहरूलाई वार्षिक रु. १०,००० पोशाक भत्ता पनि उपलब्ध गराइनेछ।

बिदा सुविधामा पनि उल्लेख्य सुधार गरिएको छ। अब कर्मचारीहरूले वर्षमा ६ दिन पर्व बिदा, मासिक १ दिन घर बिदा, साप्ताहिक बिदा तथा आवश्यकताअनुसार अन्य बिदा सुविधा प्राप्त गर्नेछन्।

अस्पताल प्रशासनले सामाजिक सुरक्षा कोषमा आबद्धता नै सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। यसबाट कर्मचारीहरूलाई दीर्घकालीन रूपमा पेन्सन, स्वास्थ्य उपचार तथा अन्य सामाजिक सुरक्षा सुविधा सुनिश्चित हुने अपेक्षा गरिएको छ।

यो निर्णय विगतदेखि कर्मचारी युनियनहरूले उठाउँदै आएको प्रमुख मागको परिणाम भएको बताइएको छ। तर, कार्यान्वयन भने लामो समयदेखि ढिलाइ हुँदै आएको थियो। पछिल्लो समय अस्पतालमा नयाँ कार्यकारी निर्देशक, उपसचिव तथा लेखा अधिकृतसहितको व्यवस्थापकीय टोली आएपछि मात्र सुधार प्रक्रियाले गति लिएको हो।

अस्पताल प्रशासनले यस सुधारलाई संस्थागत परिवर्तन र कर्मचारी हिततर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।

civil hospital
Hams Hospitals