दीपक भट्टको घरमा छापा, सम्पत्ति शुद्धीकरणमा कडा कारबाही सुरु

555
shares

काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादित व्यवसायी दीपक भट्टको ललितपुरको सानेपास्थित निवासमा छापा मारेको छ।

विभागका स्रोतका अनुसार मंगलबारदेखि सुरु गरिएको छापा बुधबार बिहानसम्म निरन्तर जारी रहेको थियो। छापामार कार्यवाहीका क्रममा घरभित्र रहेका विभिन्न कागजात, आर्थिक कारोबारसम्बन्धी अभिलेख तथा डिजिटल सामग्रीहरू नियन्त्रणमा लिइएको बताइएको छ।

प्रारम्भिक अनुसन्धानबाट भट्टमाथि अवैध आम्दानीलाई वैध बनाउने (सम्पत्ति शुद्धीकरण) सम्बन्धी गम्भीर आशंका गरिएको विभागले जनाएको छ। सोही आधारमा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।

यसअघि दीपक भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत १९ चैतमा नियन्त्रणमा लिएको थियो। सीआईबीले पनि उनीमाथि आर्थिक अनियमितता र शंकास्पद कारोबारसम्बन्धी अनुसन्धान गरिरहेको थियो।

हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सीआईबीसँग समन्वय गर्दै विस्तृत अनुसन्धान अगाडि बढाएको जनाएको छ। भट्टसँग सम्बन्धित वित्तीय नेटवर्क, सम्पत्ति स्रोत र सम्भावित सहकार्यकर्ताहरूको समेत खोजी भइरहेको स्रोतले जानकारी दिएको छ।

यस घटनाले उच्च तहका व्यवसायीहरूमा हुने आर्थिक पारदर्शिता र कानुनी जवाफदेहिताको विषय पुनः चर्चामा आएको छ।

civil hospital
Hams Hospitals