धितोपत्र घोटालामा गोल्छा अर्गनाइजेशन तानियो: व्यवसायी दीपक भट्ट प्रकरणले ठूला घराना नै नांगिए’

294
shares

 

 

काठमाडौं । व्यवसायी दीपक भट्टको गैरकानूनी धितोपत्र कारोबार प्रकरणले अब ठूला व्यवसायिक घरानासमेत तानिएको खुलासा भएको छ। हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टसँग जोडिएको धितोपत्र घोटालामा प्रतिष्ठित गोल्छा अर्गनाइजेशनसमेत मुछिएको छ।

धितोपत्र बोर्डको निर्देशनमा गठित छानबिन समितिले गरेको विस्तृत अनुसन्धानपछि उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शेखर गोल्छासमेत दोषी ठहर भएका छन्। समितिको निष्कर्षअनुसार भट्टले धितोपत्र खरिद–बिक्रीमा व्यापक अनियमितता गर्दै वित्तीय प्रणालीलाई नै प्रभावित बनाएको पाइएको छ।

विशेषगरी भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत गरिएको कारोबारमा गम्भीर मिलेमतो देखिएको छ। कम्पनीले दीपक भट्टसँग प्रत्यक्ष रकम नलिई, उनीसँग सम्बन्धित कम्पनी र सञ्चालकहरूलाई दिनुपर्ने रकमसमेत रोकेर त्यही रकमबाट धितोपत्रको राफसाफ गरेको तथ्य खुलेको छ। यसले बजार प्रणालीमै संगठित चलखेल भएको संकेत दिएको छ।

छानबिन समितिले भट्टसँगै भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानलाई पनि दोषी ठहर गरेको छ। यस्तै, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहसमेत आरोपीको सूचीमा परेका छन्।

यो प्रकरणमा ‘कसूर गर्न सहयोग गर्ने’ व्यक्ति तथा संस्थाको सूची झनै चौंकाउने खालको छ। शेखर गोल्छासहित हिमालयन रिइन्स्यारेन्स लिमिटेड, हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र रोहित गुप्तालाई पनि कारबाहीको दायरामा ल्याइएको छ।

धितोपत्र बजारलाई प्रभावित पार्ने गरी भएको यो संगठित चलखेलले नियामक निकायको भूमिकामाथि समेत गम्भीर प्रश्न उठाएको छ। अब यो प्रकरणमा थप कडा कारबाही हुन्छ कि शक्तिशालीको पहुँचले फेरि उन्मुक्ति पाउँछ भन्नेमा सर्वसाधारणको चासो केन्द्रित भएको छ।

civil hospital
Hams Hospitals