भुर्तेलको विस्फोटक ब्याटिङ: यूएईमाथि नेपालको दमदार जित, सिरिज बराबरी
वि.सं.२०८३ वैशाख ८ मंगलवार
shares
काठमाडौं । ओपनर कुशल भुर्तेलको विस्फोटक प्रदर्शनमा नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै दुई खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज बराबरीमा टुंग्याएको छ।
१२९ रनको लक्ष्य पछ्याएको नेपालका लागि भुर्तेल एक्लैले खेल जिताउने जिम्मा उठाए। उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको शानदार पारी खेले। उनीसँगै दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रनको योगदान दिए।
यसअघि कीर्तिपुरस्थित टियुमा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।
यूएईका लागि अक्षदीप नाथले ५३ रनको संघर्षपूर्ण अर्धशतक प्रहार गरे। साथै, मुहम्मद अर्फान (३२) र अदीव उस्मानी (३०) ले केही हदसम्म इनिङ सम्हाले पनि अन्य ब्याट्सम्यान असफल रहे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएर खेलको दिशा मोडे भने हेमन्त धामीले २ विकेट झारे। नन्दन यादव र साहब आलमले समान १–१ विकेट हात पारे।
नेपालको यो जितसँगै सिरिज १–१ को बराबरीमा सकिएको छ, जसले टोलीको लडाकु प्रदर्शनलाई पुनः प्रमाणित गरेको छ।

























