बालेनका मान्छे पार्टी सदस्य नभएका पनि मन्त्री, अरुका सदस्यता खोजी !
वि.सं.२०८३ वैशाख १८ शुक्रवार
shares
काठमाडौँ । नयाँ राजनीतिक शक्ति रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सदस्यता र टिकट वितरण प्रक्रियामा दोहोरो मापदण्ड अपनाइएको पाईएको छ । एकातर्फ पार्टीका केही मन्त्रीहरू नै औपचारिक सदस्य नभएको दाबी गरिएको छ भने अर्कोतर्फ सदस्यता नपाएकै कारण केही व्यक्तिहरू चुनाव लड्नबाट वञ्चित भएका थिए ।
हालका श्रम मन्त्री रामजी यादव रास्वपाबाट मन्त्री बने पनि उनी पार्टीको औपचारिक सदस्य नभएको खुलेको छ । उनी घण्टी चुनाव चिन्हबाट निर्वाचित भए पनि सदस्यता नलिई चुनावमा उम्मेदवार वनेका थिए । बालेनको रोजाईमा उनी मन्त्री बने ।
रास्वपाले उम्मेदवार छनोटअघि अनलाइन प्रणालीमार्फत सदस्यता आवेदन दिन आह्वान गरेको थियो। तर सो प्रक्रिया पूरा नगरेका केही व्यक्तिहरूले पनि पार्टीको चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेर जित हासिल गरेको दाबीले पार्टीको आन्तरिक प्रणालीमाथि प्रश्न उठाएको छ ।
त्यस्तै, निवर्तमान गृहमन्त्री सुदन गुरुङले गृहमन्त्री बन्नुभन्दा केही दिनअघि मात्र पार्टी सदस्यता लिएका थिए । यसैगरी सार्लाहीमा उम्मेदवार बनेका अमरेश कुमार सिंहले चुनावमा टिकट पाउनुअघि नै हतार हतारमा सदस्यता लिएको चर्चा पनि चलिरहेको छ । उनले काँग्रेस सभापति गगन थापालाई पराजित गरेका हुन् ।
एक युटुवर दिवाकर शाहले भने पार्टी सदस्यता नभएकै कारण रास्वपाबाट चुनाव लड्न नपाएको र स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । गायक राजीव शाहले पनि सदस्यता नपाएकै कारण चुनावी प्रतिस्पर्धाबाट बाहिरिनु परेको थियो ।
यसैबीच, उद्योग मन्त्रालय सम्हालेकी गौरीकुमारी यादव पनि रास्वपाबाट मन्त्री बनेकी भए पनि उनी पार्टी सदस्य नभएको खुलेको छ । रास्वपा स्रोतका अनुसार बालेनको पक्षबाट आएकी उनी बालेनकै जोडवलमा पाटी सदस्य नभएपनि उम्मेदवार बनेकी हुन् ।
यी घटनाक्रमले पार्टीभित्र आन्तरिक मापदण्ड, सदस्यता प्रक्रिया र टिकट वितरणमा पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ । पार्टी सभापति रवि लामिछाने नेतृत्वमा रहेको रास्वपाले ‘नयाँ राजनीति’ को नारा अघि सारे पनि व्यवहारमा फरक मापदण्ड अपनाइएको हो कि भन्ने बहस चर्किएको छ ।


























