देवाधिदेव पशुपतिनाथको अविर्भाव र महिमा
वि.सं.२०८३ वैशाख २३ बुधवार
shares
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर
गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैंडाकोट नगरपालिका वार्ड नं. ४ बाट मिति २०८३ साल वैशाख १६ गते म लेखक स्वयम् (भूमिका गैरे तिमिन्सिना ) छोरा प्रतीक तिमिल्सिना र छोरी प्रशंसा तिमिल्सिना दिउँसो ११:०० बजे हाइसमा चढ्यौँ | एक महिनाको नेपाल बसाई पश्चात् पुन: क्यानडा जानका लागि छोरा प्रतीक तिमिल्सिना सहित हामी ३ जना काठमाडौं लाग्यौँ | हामी बेलुका ७ बजे पशुपतिनाथ क्षेत्र नजिकको एक होटेलमा बास बस्यौं ।
भोलिपल्ट बिहान ९:०० बजे हामी पशुपति दर्शनका लागि निस्क्यौँ । सोही दिन छोरा प्रतीकको जाने दिन पनि थियो । हामी दक्षिण दिशाबाट पशुपतिनाथतर्फ लाग्यौँ |
दक्षिण एसियामा पर्ने एक ठुलो द्वीप अर्थात जम्बुद्वीपमा नेपाल एक पवित्र एवम् उत्तम क्षेत्र हो। भगवान शिवको मूल क्षेत्र पशुपति अत्यन्त पवित्र भूमि पनि हो ।
माता पार्वतीको प्यारो तपोवन तथा गुप्त स्थान भएकाले अन्यत्र करोडौं वर्षमा प्राप्त हुने सिद्धि पशुपतिनाथमा एक रातमा नै प्राप्त हुन्छ । भगवानको मृगरूप जुन जुन स्थानमा रह्यो | त्यहीँ पुण्यभूमि भयो, अर्थात पशुपति क्षेत्रमा बस्ने मनुष्य पापी भएतापनि मृत्यु पश्चात् स्वर्गलोक जान्छन् भन्ने भनाइ रहेको पाइन्छ |
सृष्टिको पूर्व संसार जलमय थियो ।त्यस बेलामा ब्रह्मा र विष्णु मात्र थिए । यी दुवै बिच “को ठूलो हो ? “ भन्ने विषयमा ठुलो झगडा पर्यो, दुबैको झगडा हुँदा अकस्मात ! ज्योतिको ताप चम्किन थाल्यो र भविष्यवाणी भयो कि, “ जसले यो ज्योतिका आदिअन्त पत्ता लगाउँन सक्छ । त्यहीं नै ईश्वर मानिन्छ।“ त्यो सुनेर ब्रह्माजी माथि तिर लाग्नुभयो भने विष्णु भगवान तलतिर लाग्नुभयो । दुवैले हजारौं वर्ष त्यसै खोजमा बिताए तर पनि ज्योतिको रहस्य पत्ता लगाउन असमर्थ भए |
तब ब्रह्माजीले केतकी, जपापुष्प, बन्धूक र कामधेनुलाई साक्षी बनाएर पूर्ववत स्थानमा फर्कनुभयो र भन्नुभयो, “मैले ज्योतिको आदिअन्त पत्ता लगाए ।” अनि त्यो सुनेर विष्णु भगवान दुःखित हुनुभयो । फेरि आकाशवाणी भयो । ” ब्रह्मा र साक्षीगणले महाझुठ बोलेकोमा संसारमा यिनको पूजा कहिल्यै हुँने छैन |” त्यसपछि ब्रह्मा विष्णु दुवैले शिवको स्तुति गर्न थाले। भगवान शंकर उनीहरुको स्तुतिले प्रसन्न भई ज्योर्तिलिंग शिवपार्वतीको दर्शन दिनुभयो | भगवानले गौरीसहित पाँच मुख, आठ हात, हातमा जपमाला, अमृत कलश (कमण्डल ) लिएको दिव्य रूपको दर्शन दिनुभयो।
तत्पश्चात् शिवजीले ब्रह्माजीलाई सृष्टिकर्ता र विष्णु भगवानलाई पालनकर्ता बनाउँनुभयो । ब्रह्माजीले संसार जलमय भएको देखेर सृष्टि कसरी गर्ने त ? भनि जललाई सुकाउँनका लागि शिवको आराधना गर्न थाल्नुभयो | स्तुति सुनेर भगवान शिवले दावानल,लम्बोदर गणेश, सूर्य र चन्द्रमालाई प्रकट गरी दावानलले पृथ्वीको जल सुकाई समुन्द्रभित्र समाहित भए | गणेशले पृथ्वीको पानी आफ्नो श्वासमा सुकाउँन थाल्नुभयो। सूर्यले प्रकाश फैलायो भने चन्द्रमाले पृथ्वीमा शीतलता प्रदान गरे ।
“एक हजार वर्षपछि ज्योर्तिलिंगको देवताहरूले पूजा गर्नेछन । त्यसपछि यो नगरी मुक्तिदायी स्वर्गमयी हुनेछ। हजारौँ वर्ष सम्म यो भूमिमा वास गर्नेछु, भन्नुभयो ।” जब यस भूमिमा म्लेच्छ (अनार्य) जाति बढ्नेछन् । त्यसलाई नष्ट गर्नेछु, अनि समीपवर्ती वनमा मृगको रूप धारण गरी हजारौँ वर्ष विहार गर्नेछु। पशु (मृग) रुपमा रहेका कारण यस क्षेत्रलाई कालान्तरमा “पशुपतिनाथ” का नामले चिनिने छ।” भनि भगवान शंकरले ब्रह्मा विष्णुलाई भन्नुभयो।
त्यसपछि मृगरूप पनि गुप्त हुनेछन् | जुन कामधेनुद्वारा पत्ता लाग्नेछ । जब मान्छेले मोहका कारण यो भूमिलाई खन्न थाल्नेछन् | तब मेरो तेज प्रकट भई म्लेच्छ जलेर भष्म हुनेछन् | तत्पश्चात् ‘सत्य युग, को आविर्भाव (उत्पत्ति) हुनेछ ।
यति भनिसकेपछि भगवान शिव चार हात लामो ज्योतिलिङ्गका रुपमा पृथ्वीमा विराजमान हुनुभयो । त्यसै रुपलाई हामी पशुपतिनाथ भनेर दर्शन गर्दछौ |
दावानलले पृथ्वीको पानी शोषण गरेकाले समुन्द्रमा गएर वस्न थाले । आज पनि पृथ्वीमा पानी बढेमा त्यसलाई सुकाएर पृथ्वीको रक्षा गरिरहेका हुन्छन् | सूर्यले प्रकाश फैलाएर, चन्द्रमाले अमृत वर्षा गरेर अनि लम्बोदर गणेशले पानी सुकाएर गर्ने रक्षक रूप नै नैऋत्य कोण भए। आज गणेशको नाम चोभार गणेश भनेर चिनिन्छ। विश्वकर्माले पनि स्वर्ण नगरीलाई अनेकन कलाकारिताले पशुपतिनाथलाई सजाएका थिए | त्यसपछि यसको नाम तपोवन रह्यो |
केही समय पश्चात् म्लेच्छोको नाश भयो | भगवान शिवले देवताहरूमा मप्रति कतिको प्रेम छ त ? भन्ने जान्नका लागि एक सिङ भएको चम्किलो मृगको रुप धारण गरी गुप्त रूपमा श्लेष्मान्तक वनमा अवतरित हुनुभयो। त्यसपछि श्लेष्मान्तक नागको रक्षा गरी स्वच्छन्दतापूर्वक वनमा विहार गर्नुभयो । यस कुराको जानकारी ब्रह्मा विष्णुलाई भएता पनि शिवमायामा मोहित भएर सबै बिर्सिसकेका थिए।
मृगरूपमा विहार गर्दै शिवजीले दश हजार वर्ष व्यतीत गर्नु भयो । देवताहरूले शिवजीको दर्शन नपाएपछि दुःखित भएका थिए। उनीहरूले सारा ब्रह्माण्ड खोजे तर कतैपनि भेट्न सकेका थिएनन् । ब्रह्माले आफ्नो योग शक्तिद्वारा पत्ता लगाए र विष्णु लगायत सबै देवीदेवताका साथ श्लेष्मान्तक वनमा गए । त्यहाँ वाग्मती तटमा एक्लै खेलेकी एक सुन्दरी कन्या देखेर उनीहरु आश्चार्यमा परे । त्यस कन्याको तेज देखेर देवताहरूले पत्ता लगाए कि यो जगन्माता गुह्येश्वरी हो । विनम्रता पूर्वक उनको स्तुति गरे । उनले शिवजीको क्रीडास्थली बताइ दिइन् । जसलाई धुवस्थली पनि भनिन्छ।
पशुपतिनाथको मन्दिर त्रिभूवन विमानस्थलको समीप रहेको छ। देवताहरूले शिवजीको दिव्य मृग रूप देखेर स्तुति गरे तर शिवजी जङ्गलतर्फ दौडनुभयो | त्यो देखर व्रह्मा, विष्णु इन्द्र, देवताहरूले उहाँको पिछा गर्दा सिङ समात्नुभयो ।मृग विलिन हुन पुग्यो । व्रह्मा विष्णुको हातमा सिङ मात्र रहयो । त्यो देखेर देवगण अत्यन्त दुःखित भए। त्यसबेला आकाशवाणी भयो, ” तीन लोकको कल्याण हेतु मैले मृगको रूप लिएको थिएँ, यो सिङ तीनलोकमा तीनटुक्रामा विभाजित गरी स्थापित गरिदिनु, त्यही बसेर लोकको कल्याण गर्नेछु।”
पशुपतिनाथ (मृगको सिङ )गुप्त रूपमा रहे र केही समयको अन्तरालपछि त्यहाँ माटो जम्मा भएर थुम्को बन्यो । कामधेनुले वाग्मती स्नान गरी गंगाले शिवको अभिषेक गर्न थाले । त्यसप्रकारले कैयौँ वर्ष बित्यो |
एकदिन म्लेच्छले कामधेनुलाई गुप्त रुपमा शिवलिङ्गमा जल अभिषेक गरेको देखे। त्यहाँ खन्दा दिव्य तेज उत्पन्न भयो जुन शिवलिङ्ग थियो । म्लेच्छहरु भीषण तेजका कारण नष्ट भए । यो खबर चारैतिर फैलियो । व्रह्माजीले दिव्य दृष्टिले पशुपतिनाथ प्रकट भएको रहस्य पत्ता लगाए। असहनीय तेजमाथि व्रह्माविष्णुले शुभ लक्षणयुक्त पञ्चमुखी रत्नमय पाषाण, लिङ्ग, जलहरी नीलमणिलाई स्थापित गर्नुभयो । यो खबर तीनै लोकमा फैलियो | देवगण, ऋषिगण सबै आएर वाग्मती स्नान गरी पशुपतिको दर्शन गरेका थिए।
शिवले नक्षत्र, तारा र सूर्यग्रहलाई आफ्नो ‘ईशान’मुखमा, ऋषिमुनि, शक्ति र व्रह्मा आदिलाई पूर्व स्थित ‘तत्पुरुष’ मुखमा समाविष्ट गर्नुभयो । लक्ष्मीविष्णु गणसहित दक्षिण स्थित ‘अधोर’ मुखमा विघ्नगण र गणेशजीलाई पश्चिम स्थित ‘सद्योजात ‘ मुखमा गुप्त गरी सम्पूर्ण चराचर जगत पशुपतिमा लीन भएको हो भन्ने भनाइ रहेको पाइन्छ |
पशुपति शब्दको अर्थ पशुहरूको मालिक, जुन काम, अज्ञान, मोहमा बाँधिएका प्राणीलाई मृत्युबाट छुटकारा दिलाउँनका लागि अमृतात्मरूपी अमर, देवाधिदेव मृत्यु संहार शक्तिरुपी मृत्युञ्जय रुद्र नै पशुपति हो ।
वत्सला देवी
भगवान शिवले माता पार्वतीलाई भन्नुहन्छ, पूर्व जन्ममा तिमी ‘सती’ नामकी दक्ष प्रजापतिकी छोरी थियौ। तिम्रो पिताद्वारा मेरो घोर अपमान भयो। जसका कारण तिमीले तत्काल प्राणत्याग गर्यौ। म तिम्रो अगाध प्रेमले तिम्रो मृत शरीरलाई काधमा राखी शोकाकुल भएर भ्रमण गर्न थालेछु । सम्पूर्ण पृथ्वी भ्रमण गरी सकेपछि म यो पवित्र भूमिमा आएछु | त्यो देखेर भगवान विष्णुले आफ्नो सुदर्शन चक्रद्वारा तिम्रो शरीरको विभिन्न भाग खण्ड खण्ड गरी विभिन्न ठाउँमा खसाल्नुभयो । तिम्रो गुप्ताङ्ग मृगस्थलीको उत्तरतर्फ वाग्मती नदीको तटमा पतन भयो | वत्सला देवीको प्राचीन स्थल आर्यघाटको दक्षिणतर्फ मन्दिर रहेको छ। वत्सला देवीको पूजा गर्नाले धर्म, अर्थ, काम, मोक्ष यी चतुवर्ग पुरुषार्थ प्राप्त हुन्छ।
जयमंगला
वत्सलेश्वरीको नजिक दक्षिणतर्फ आकाश भैरव तथा जयमंगला देवीको स्थान छ । यीनको पूजा आराधना गर्नाले सर्वत्र जय विजय प्राप्त हुन्छ । “सर्वत्र जयमाप्नोति संपूज्य जयमंगलाम् !”
गोकर्णेश्वर
वाग्मती नदीमा स्नानगरी गोकर्णेश्वर तीर्थ निकट चन्द्रगाभा एवम् वाग्मतीको संगम पितृमहाँ तीर्थ छ | व्रह्माले भाद्र कृष्ण चर्तुदशीका दिन, गोकर्णेश्वरको स्थापना गर्नुभयो । यस दिन यस स्थानमा पिण्डदान श्राद्ध गर्नाले पितृ मोक्ष प्राप्त हुन्छ,भन्ने भनाइ पाइन्छ ।
नन्दी भृंगी आदि पंच क्षेत्रपाल
नन्दी, भृंगी, लालगणेश, कीर्तिमुख भैरव र वासुकी यी पाँचलाई शिवजीले वरदान दिएर उनीहरुको सम्मान बढाउँन हेतु पशुपतिक्षेत्रको क्षेत्रपाल बनाउँनु भयो । कीर्तिमुख दक्षिण दिशामा, नन्दी पश्चिम दिशामा, भृंगी उत्तर दिशामा, लालगणेश पूर्व दिशामा विराजमान भएर आज पनि पशुपतिको रक्षा गरेका छन् ।
वासुकीनाथ
मूल स्थान पाताल छोडेर आफ्नो गणसहित वासुकीनाथ पशुपतिको प्रियस्थल श्लेष्मान्तक वन, वाग्मती तटको उत्तर दिशामा वासुकीनागराजको मन्दिर अवस्थित रहेको छ।
एकदिन गरुणसँग भयभीत भएर वासुकी नागराज यस पवित्र भूमिमा आएर वाग्मती नित्य स्नान गरी एकहजार वर्षसम्म तपस्या गरे। उनको तपस्याबाट शिवजी प्रसन्न भएर नागराज वासुकीलाई आफ्नो गलामा आभूषण बनाई धारण गर्नुभयो । वासुकी नागराजले सदैव पशुपतिको द्वारमा रही त्यहाँको धन र त्यस क्षेत्रको रक्षा गरेका छन् |
वाग्मती (शिवगंगा)
शिवजीले मृगेन्द्र शिखर (वाग्द्वार पर्वत) मा गएर शिवजीको तप गर्नुभयो । व्रह्माको तपद्वारा प्रसन्न भएर अट्टहास (ठूलो स्वरमा हाँस्नु) गर्दा मुखबाट जलको छिटा निस्कियो, जुन नदीमा परिणत भयो । त्यो देखेर शिवजी प्रसन्न भई उक्त नदीको नाम वाग्मती वा शिवगंगा रहनेछ, भन्नुभयो |
सर्वप्रथम आर्यातीर्थ स्नान गरी गुहेश्वरीको दर्शन गरेपश्चात् किरातेश्वर गोरखनाथ, राजेश्वरी, वत्सला, जयमंगला, क्षेत्रपाल कीर्तिमुख, भैरव, नन्दी भृंगी, वासुकी, लालगणेश आदिको दर्शन पश्चात् पशुपतिनाथको दर्शन गर्नुपर्छ।
रुद्राक्ष
पौराणिक ग्रन्थका अनुसार भगवान शिवजीको स्वरूप रुद्राक्षलाई मानिन्छ। शिवको आँखाबाट उत्पन्न भएको रुद्राक्ष औषधिको रुपमा प्रयोग गरिन्छ | भगवान शंकरको प्रिय आभूषण जसले अकाल मृत्युहारी हुन्छ । रुद्राक्षको पूजा गर्दा सदा लक्ष्मीमाता वास गर्छिन् भन्ने भनाइ पाइन्छ। दीघायूको प्रतीक, यमराजको भय नहुने, महिलाहरूको लागि पुत्रलाभ, शान्ति प्रदान, पापबाट छुट्कारा, दुःख कष्ट नाश, कुण्डलिनी जागृत, मोक्ष प्रदान, मानसिक शान्ति, शुद्ध विचार, दुषित आत्माबाट टाढा राख्न मद्दत गर्दछ।
पशुपतिनाथ मन्दिर काठमाण्डौंको वाग्मती नदी किनार अवस्थित भगवान शिवको प्रसिद्ध र पवित्र हिन्दु तीर्थस्थल हो । उक्त मन्दिर प्यागोडा शैलीमा निमार्ण भएको छ। यसको मुख्य विशेषता भनेको मन्दिरको मुख्य गर्भगृहमा चार दिशामा फर्कनु रहेको छ | जहाँ चार ओटा ढोका रहेका छन् । यस मन्दिरको छानो तामाको पाताले छाएको र सुन जलप लगाइएको छ।
भगवान पशुपतिनाथ समस्त जीवजन्तु एवम् पशुहरुको स्वामी मन्दिर देउपाटनमा वाग्मती नजिक अवस्थित रहेको छ । यो मन्दिरमा हिन्दुहरूलाई प्रवेश गर्ने अधिकार छ भने अन्य चाहिँ टाढाबाट दर्शन गर्न सक्छन् । यस मन्दिरको दर्शन गर्नाले मृत्युपश्चात् पशुयोनीमा जन्म लिनु पर्दैन, भन्ने मान्यता रहेको पाइन्छ।
पशुपतिनाथ मन्दिर नेपालको धार्मिक, सांस्कृतिक, पौराणिक, ऐतिहासिक महत्व बोकेको विश्व प्रसिद्ध मन्दिर हो । यस मन्दिरको क्षेत्रफल करिब २४० हेक्टर रहेको छ | वाग्मती किनार आर्यघाट, वरिपरि धेरै साना मन्दिरहरू रहेका छन् । यस मन्दिरमा विशेष गरी महाशिवरात्री, तीज प्रमुख पर्व हुन्,जसमा लाखौंको सङ्ख्यामा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । यो मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा पर्दछ। सन् १८७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको छ। यो मन्दिर पाँचौ शताब्दीमा स्थापित भएको मानिन्छ। शिवरात्री पर्व विशेष महत्त्वका साथ मनाइन्छ। यसलाई राष्ट्रिय पर्वका रुपमा पनि लिइन्छ | शिवरात्री, नेपालमा यस पर्वलाई तेत्तीस कोटी देवी देवता, लगायत व्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन भएको हो, भन्ने विश्वास गरिन्छ । भगवान शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश नामले पनि जप्ने गरिन्छ ।
मन्दिरको गर्भमा चारैदिशातर्फ मुख फर्किएका पञ्चमुख रहेको छ । जसमा पूर्वतर्फ तत् पुरुष (ज्ञान), पश्चिमतर्फ सदोधन (सम्पति ),उत्तर तर्फ दम्पति, दक्षिणतर्फ शत्रुनाश, र आकाशतर्फ ईशान रहेका छन् । मन्दिरमा सुनको गजुर रहेको छ। यस मन्दिरको पश्चिम ढोकामा ठूलो गोरू वा नन्दीको मुर्ति रहेको छ। २०७२ सालको ठुलो भूकम्प जाँदा मन्दिरमा कुनै पनि क्षति भएको थिएन | जसबाट पनि यो सिद्ध हुन्छ कि भगवान पशुपतिनाथको मन्दिर एक महान पीठ हो |
नेपालमा रहेको सर्वश्रेष्ठ, उत्तम, महान पीठ, अत्यन्त मनोरम, पवित्र, वाग्मती नदी किनार रहेको देवाधिदेव महादेव पशुपतिनाथ मन्दिर जाँदा परमानन्दमय अनुभूति हुन्छ । भगवान शिव पार्वतीको अदभूत लीला, सम्पूर्ण देवगण समाहित भएको पवित्र स्थल रहेको छ। धार्मिक, पौराणिक सांस्कृतिक, ऐतिहासिक एवम् पर्यटकीय महत्त्व बोकेको सर्वश्रेष्ठ महान पीठ श्री पशुपतिनाथलले सम्पूर्ण चराचर जगत, वनस्पति, जीवजन्तु लगायत सम्पूर्ण मानव जगतमा शान्ति अमनचयन प्रदान गरून् | विश्वमा शान्ति स्थापित गर्न सक्ने अदृश्य शक्ति प्रदान गर्नुका साथै हामी सम्पूर्ण मानवजगतको कल्याण गरून् ।
जय पशुपतिनाथ !





























