संकटमा प्रधानमन्त्री स्टार्मर, आफ्नै पार्टीका ७० सांसदले मागे राजीनामा

1.6K
shares

 

लन्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मर यतिबेला आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो संकटमा फसेका छन्। सन् २०२४ को आमनिर्वाचनमा ऐतिहासिक जितसहित सत्तामा पुगेका स्टार्मर दुई वर्ष नपुग्दै आफ्नै पार्टीभित्रबाट घेराबन्दीमा परेका हुन्।

स्थानीय तह निर्वाचनमा श्रम पार्टिले अप्रत्याशित हार व्यहोरेपछि पार्टीभित्र असन्तुष्टि विस्फोट भएको छ। देशभर ठूलो संख्यामा काउन्सिल सिट गुमाएको लेबरले दर्जनौँ स्थानीय सरकारको नियन्त्रणसमेत गुमाएको छ। वेल्समा परम्परागत पकड कमजोर बनेको छ भने स्कटल्याण्डमा पनि पार्टीको प्रभाव खस्किएको देखिएको छ।

विश्लेषकहरूका अनुसार जनताले लेबरप्रति विश्वास गुमाउन थालेपछि मतदाता वैकल्पिक शक्तितर्फ मोडिएका छन्। विशेषगरी Reform UK र Green Party तर्फ बढ्दो आकर्षणले स्टार्मर नेतृत्वमाथि गम्भीर प्रश्न खडा गरेको छ।

निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै लेबरभित्र विद्रोह खुला रूपमा सतहमा आएको छ। करिब ७० भन्दा बढी सांसदहरूले स्टार्मरलाई पद छोड्न वा कम्तीमा राजीनामाको स्पष्ट समयसीमा सार्वजनिक गर्न दबाब दिएका छन्। पार्टीका प्रभावशाली नेताहरू र सल्लाहकारहरूले समेत “नेतृत्वमाथि जनविश्वास कमजोर भइसकेको” निष्कर्ष निकाल्न थालेका छन्।

पार्टीको आन्तरिक समीकरण हेर्दा ठूलो संख्यामा सांसदहरू एकजुट भए नेतृत्व परिवर्तन प्रक्रिया कुनै पनि बेला सुरु हुन सक्ने अवस्था देखिएको छ। यही कारण स्टार्मरमाथिको दबाब दिनप्रतिदिन बढ्दो छ।

तर प्रधानमन्त्री स्टार्मर भने सत्ता छोड्ने पक्षमा देखिएका छैनन्। उनले हालै सार्वजनिक कार्यक्रममा निर्वाचन परिणामलाई “गम्भीर चेतावनी” का रूपमा स्वीकार गर्दै सरकार स्थिर राख्न आफू प्रतिबद्ध रहेको बताएका छन्। बारम्बार नेतृत्व परिवर्तनले देशलाई अस्थिरतातर्फ धकेल्ने उनको तर्क छ।

स्टार्मरले आर्थिक सुधार, युरोपेली संघसँग सम्बन्ध सुधार र शिक्षा क्षेत्रमा लगानी बढाउने नयाँ योजना अघि सारे पनि त्यसले पार्टीभित्रको विद्रोह मत्थर पार्न नसकेको टिप्पणी भइरहेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार “धेरै ढिलो भइसकेको” सन्देश पार्टीभित्रै बलियो बन्दै गएको छ।

यसैबीच, नयाँ नेतृत्वका सम्भावित अनुहारबारे पनि चर्चा सुरु भएको छ। स्वास्थ्य मन्त्री Wes Streeting, पूर्व उपप्रधानमन्त्री Angela Rayner तथा Andy Burnham लाई स्टार्मरको विकल्पका रूपमा हेरिन थालेको छ।

बेलायती राजनीतिमा अहिले अस्थिरता र अनिश्चितता गहिरिँदै गएको छ। आगामी पार्टी बैठक र आन्तरिक शक्ति संघर्षले अब स्टार्मरको राजनीतिक भविष्य तय गर्ने देखिएको छ।

civil hospital
Hams Hospitals