काठमाडौंको बुढानीलकण्ठमा ‘ट्राइब’ होटल ल्याउँदै एकोर दक्षिण एसियामै पहिलो परियोजना

228
shares

 

काठमाडौं । विश्व प्रसिद्ध होटल समूह एकोरले दक्षिण एसियामै पहिलो पटक ‘ट्राइब’ ब्रान्ड अन्तर्गत होटल सञ्चालन गर्ने भएको छ । कम्पनीले काठमाडौंको बुढानीलकण्ठमा १०० कोठे ‘ट्राइब काठमाडौं बुढानिलकण्ठ ’ निर्माण गर्ने सम्झौता गरेको हो ।

 

सन् २०२९ सम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित बन्न लागेको उक्त होटल सब्रिना लिमिटेडसँगको साझेदारीमा विकास गरिनेछ । कम्पनीका अध्यक्ष निराजन थापाको नेतृत्वमा निर्माण हुने होटल व्यवस्थापन सम्झौताअन्तर्गत सञ्चालन गरिने जनाइएको छ ।

 

 

बुढानीलकण्ठ क्षेत्रमा निर्माण हुने होटल पशुपतिनाथ मन्दिर र बौद्धनाथ स्तूपजस्ता सांस्कृतिक तथा धार्मिक सम्पदास्थल नजिकै रहनेछ । व्यस्त शहरी वातावरणभन्दा फरक शान्त र हरियाली क्षेत्र भएकाले नयाँ पुस्ताका पर्यटक र अनुभवमुखी यात्रु आकर्षित हुने अपेक्षा गरिएको छ ।

 

 

होटलमा आधुनिक डिजाइनयुक्त कोठासहित अल–डे डाइनिङ रेस्टुरेन्ट, स्पेशलिटी भेन्यु, सिग्नेचर बार, करिब ८०० वर्गमिटर इभेन्ट स्पेस, स्वीमिङ पुल, स्पा तथा फिटनेस सेन्टर रहनेछन् ।

 

सम्झौतापछि रन्जु एलेक्सले काठमाडौंको सांस्कृतिक सम्पदा, आध्यात्मिक महत्व र बदलिँदो पर्यटकीय चाहनाले TRIBE ब्रान्डका लागि उपयुक्त गन्तव्य बनेको बताइन् । उनले किफायती मूल्यमा आधुनिक र डिजाइन–केन्द्रित आतिथ्य सेवा दिने अवधारणाले नयाँ पुस्ताका यात्रु आकर्षित गर्ने विश्वास व्यक्त गरिन् ।

 

त्यस्तै निराजन थापाले नेपालमा आधुनिक, डिजाइन र कम्युनिटी–केन्द्रित आतिथ्य सेवाको माग बढिरहेको भन्दै ट्राइब होटल काठमाडौंकै नयाँ ‘लाइफस्टाइल डेस्टिनेसन’ बन्ने दाबी गरे ।

civil hospital
Hams Hospitals