ग्लोबल आईएमइ बैंकका कर्मचारी आत्महत्या प्रकरण: सिइओ रेग्मीसहित ४ जनाविरुद्ध जाहेरी
वि.सं.२०८३ जेठ ५ मंगलवार
shares
काठमाडौँ। ग्लोबल आइएमई बैंकका कर्मचारी आत्महत्या प्रकरणमा बैंकका सिईओ डेपुटी सिईओसहित ४ जना उच्च अधिकारीविरुद्ध जाहेरी दर्ता भएको छ।
बैंकको दमक साखामा कार्यरत पिताम्बर खड्काले नामै किटान गरी आत्महत्या गरेपछि उनका परिवारले सिईओ सुरेन्द्र कुमार रेग्मी, डेपुटी सिईओ सुमन पोखरेलसहित ४ जनाविरुद्ध जाहेरी दिएका हुन्।
दमक–८ लक्ष्मीमार्ग टोल निवासी ४२ वर्षीय पिताम्बर खड्का सोमबार साझ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
आत्महत्या गर्नुअघि सामाजिक सञ्जालमार्फत खड्काले आफूलाई मर्न बाध्य बनाएको उल्लेख सिईओसहितका उच्च अधिकारीहरूको नाम तस्बिरसहि सार्वजनिक गरेका थिए।
खड्काले आत्महत्या गरेपछि उनका परिवारले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, उपमहाप्रबन्धक दीपचन्द्र रेग्मी तथा मानव संसाधन विभाग प्रमुख अनामिका कुँवर सिंहविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दिएका हुन्।
प्रहरीका अनुसार जाहेरी दर्ता भएसँगै घटनाबारे अनुसन्धान प्रक्रिया सुरु गरिएको छ। मृतकका परिवारले सम्बन्धित अधिकारीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएको प्रहरी स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटना सार्वजनिक भएसँगै मुख्य आरोपी सिईओ सुरेन्द्रकुमार रेग्मी मोबाइल बन्द गरि फरार छन् भने अर्का आरोपी डेपुटी सिईओ तथा प्रवक्ता सुमन पोखरेल समेत सम्पर्कविहीन छन्।





























