बाँदर नियन्त्रण रकेट उडाउनभन्दा गाह्रो छ : महावीर पुन

270
shares

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालमा बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेट उडाउनभन्दा पनि गाह्रो भएको बताएका छन्।
शिक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पुनले बाँदर ज्यादै चलाख प्राणी भएकाले यसलाई धपाउने स्थायी प्रविधि विकास गर्न निकै कठिन रहेको र यसका लागि ठूलो अनुसन्धान आवश्यक रहेको औंल्याएका हुन्।
आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन (बन्दुक) बनाएर विभिन्न जिल्लामा परीक्षण गरे पनि केही समयपछि बाँदरले टेर्न छाडेको उनले बताए।
‘रकेट बनाउन सजिलो छ किनभने यसको प्रविधि संसारमा उपलब्ध छ। तर बाँदर धपाउने प्रविधि छैन । विकसित देशमा बाँदरले दुःख दिएको छैन, त्यसैले उनीहरूले यसमा प्रविधि विकास गरेनन्। हाम्रो देशमा हामी आफैंले अनुसन्धान गर्नुपर्छ।’
बाँदर नियन्त्रणको अनुसन्धानका लागि देशका पालिकाहरूलाई वार्षिक एक लाख रुपैयाँ मात्र छुट्याउन आग्रह गर्दा कसैले नमानेकोमा उनले गुनासो गरे। ‘५ सय पालिकाले एक–एक लाख दिएको भए ५ करोड हुन्थ्यो, मज्जाले अध्ययन गर्न सकिन्थ्यो। तर एक लाख खर्च गर्न नसक्ने पालिकाका अध्यक्षहरू सिंहदरबारमा आएर बाँदरले दुःख दियो भनेर संसद थर्काउँछन्,’उनले आक्रोश पोखे।
आविष्कार केन्द्रले आफ्नै स्रोतबाट ५०–६० लाख रुपैयाँ खर्च गरेर अनुसन्धान गरे पनि थप स्रोत नहुँदा काम रोक्नुपरेको उनले स्पष्ट पारे।
सार्वजनिक यातायातको कालो नम्बर प्लेट वितरणमा ठूलो सिन्डिकेट र भ्रष्टाचार भइरहेको पनि उनले बताए ।
एउटा ट्याक्सीको नम्बर प्लेट लिन १५ लाख रुपैयाँसम्म घुस खुवाउनुपर्ने अवस्था रहेको भन्दै उनले यस्तो दलालीमा संलग्नहरूको ’बंगारा झार्नुपर्ने’ टिप्पणी गरे।
‘पुरानो पार्टीका नेता र मन्त्रालयका कर्मचारीहरू दलालको पछि लागेर १५ लाखसम्म खाइरहेका छन्, यो अरबौंको चलखेल हो,’उनले भने। आफूले हिजो मात्रै यो विषय उठाएको र आजैदेखि सरकारले कालो प्लेट दर्ता बन्द गरेको सूचना निकालेको भन्दै उनले यसमा गम्भीर छानबिन हुनुपर्ने माग गरे।
आफूले आत्मकथा किताब बेचेर कमाएको १२–१३ करोड रुपैयाँले वीरगञ्ज कृषि औजार कारखाना चलाइरहेको भन्दै पुनले यसबाट जलेर कुरा काट्नेहरूलाई ’महाफटाहा’ भनेका छन्।
‘मैले चोखो कमाएर कारखाना चलाइरहेको छु, त्यो देखेर भित्रभित्रै जलेर मलाई उडाउनेहरू ठहरै परून्,’ आक्रोशित हुँदै उनले भने।
पुनले आफूलाई राजनीतिमा कुनै चासो नरहेको स्पष्ट पार्दै केवल समाज सुधार, देश विकास र प्रविधिका विषयमा मात्र आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन्।

civil hospital
Hams Hospitals