दलीय ट्रेड युनियनमा सक्रिय कर्मचारीको सरुवा : ६१ कर्मचारी अदलबदल
वि.सं.२०८३ जेठ ८ शुक्रवार
shares
काठमाडौं । सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत र लामो समयदेखि दलीय ट्रेड युनियनको नाममा सिंहदरबार केन्द्रित रहेका कर्मचारीहरूको सरुवा गरेको छ। उपसचिव, अधिकृत र सुब्बा तहका गरी ६१ कर्मचारीलाई गृह मन्त्रालय मातहत सरुवा गरिएको हो।
सरुवा सूचीमा विभिन्न राजनीतिक दल निकट कर्मचारी नेताहरू पनि परेका छन्। एमाले निकट मानिएका उमेश पराजुली, नेपाली कांग्रेस निकट उत्तम कटुवाल तथा माओवादी केन्द्र निकट हरि रावल लगायत कर्मचारीको सरुवा गरिएको स्रोतले जनाएको छ।
प्रशासनिक स्रोतका अनुसार लामो समयदेखि सिंहदरबारमा बसेर विभिन्न कर्मचारी संगठन तथा ट्रेड युनियन गतिविधिमा सक्रिय रहेका कर्मचारीलाई छानीछानी सरुवा गरिएको बताइएको छ। सरुवाको निर्णय प्रशासनिक पुनर्संरचना तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको दाबी गरिएको छ।
सरकारले कर्मचारीतन्त्रलाई थप तटस्थ, जिम्मेवार र सेवा प्रवाहमुखी बनाउने नीति लिइरहेका बेला यो सरुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि कर्मचारी संगठनहरूले भने यसबारे औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।
सरुवापछि सम्बन्धित कर्मचारीहरूलाई गृह मन्त्रालय मातहतका विभिन्न निकाय तथा कार्यालयमा खटाइने जनाइएको छ।
यस सरुवाले कर्मचारी प्रशासनभित्र लामो समयदेखि बहसमा रहेको कर्मचारीको राजनीतिक संलग्नता र ट्रेड युनियनको भूमिकाको विषयलाई पुनः चर्चामा ल्याएको छ।


































