नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पहलमा लोक कल्याणकारी विज्ञापन बजेट ३३ करोड पुर्‍याइयो

1.2K
shares

 

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको निरन्तर पहल, दबाब र सरोकारवाला निकायसँगको समन्वयपछि सरकारले लोक कल्याणकारी विज्ञापनतर्फको बजेट ३३ करोड रुपैयाँ पुर्‍याएको छ।

आज सार्वजनिक भएको आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले उक्त रकम विनियोजन गरेको हो। महासंघ काठमाडौं शाखाले यसलाई पत्रकारिता क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

महासंघ काठमाडौं शाखाका पदाधिकारीहरूले लामो समयदेखि लोक कल्याणकारी विज्ञापनको बजेट वृद्धि गर्नुपर्ने माग उठाउँदै आएका थिए। यसका लागि अर्थ सचिव घनश्याम उपाध्याय लगायत अर्थ मन्त्रालय तथा सम्बन्धित निकायका अधिकारीहरूसँग पटक–पटक छलफल, समन्वय र पहल गरिएको शाखाले जनाएको छ।

शाखाका अनुसार आर्थिक संकट, सञ्चारमाध्यमको घट्दो आम्दानी तथा पत्रकारितामाथि बढ्दो चुनौतीका बीच लोक कल्याणकारी विज्ञापन पत्रकारिता क्षेत्रको महत्वपूर्ण आधार बनेको छ। यस्तो अवस्थामा बजेट वृद्धि हुनु सञ्चार क्षेत्रलाई केही राहत दिने विश्वास गरिएको छ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यो उपलब्धिलाई सम्पूर्ण सदस्यहरूको एकताबद्ध प्रयासको परिणाम भन्दै शाखाका सम्पूर्ण सदस्य, अग्रज पत्रकार तथा सहयोगी निकायप्रति आभार व्यक्त गरेको छ।

“संगठित प्रयास र निरन्तर दबाबले नै उपलब्धि सम्भव हुन्छ भन्ने कुरा फेरि प्रमाणित भएको छ,” शाखाको अध्यक्ष शोभा अर्यालले जनाउनु भएको छ।

civil hospital
Hams Hospitals